प्रधानमन्त्री रोजगार कार्यक्रम,लक्ष्यअनुसार अगाडि बढेन

| 2022 Aug 28 | 09:20 am 1785

काठमाडौँ, भदौ १२ः गत आर्थिक वर्ष काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की उर्मिला महर्जनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० दिनको रोजगारी पाइन्। यो कार्यक्रमबाट उनले दैनिक ६२५ रुपियाँका दरले ३७ हजार ५४० रुपियाँ आय गरिन् ।

दुई छोराछोरीसहित चार जनाको उनको परिवारमा श्रीमान् श्रीमती दुवैको अर्को नियमित आयस्रोत छैन । छोराछोरी पढाउने र अरू खर्चका लागि यस्तै ज्यालादारी काम नै खोज्नुपर्छ ।

महर्जनको चार जनाको परिवारको मासिक खर्च २९ हजार रुपियाँजति छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उनलाई एक सय दिनको रोजगारी त दिएन, ६० दिनकै रोजगारीले पनि राहत भएको उनको बुझाइ छ । “नहुनुभन्दा दुई महिना भए पनि ढुक्कसँग खान पाइने भयो । बाँकी दस महिनाका लागि त अरू काम खोज्नुपर्छ,” उनले भने ।

कति हुन्छ खर्च

बेरोजगार व्यक्तिको जीविकोपार्जन र जीवनस्तरमा सुधार गर्ने उद्देश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सय दिनको रोजगारी दिने भनेको छ । एक सय दिन रोजगारी पाएकी भए उर्मिला महर्जनको आय साढे ६२ हजार रुपियाँ हुने थियो । यसले उनको वर्षभरको खर्च धान्न सक्दैन ।

त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक निर्मलकुमार राउतको (सन् २०२०) अध्ययनले चार जनाको सामान्य परिवारका लागि मासिक न्यूनतम २५ हजार ३७३ रुपियाँ वा (दैनिक ९७५ रुपियाँ) आवश्यक पर्ने देखाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ निर्धारण गरेको छ । यो पारिश्रमिकले अहिलेको महँगीमा चार जनाको परिवारलाई दुई छाक पेट भर्न गाह्रो हुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका बेरोजगारको चार वर्षको कमाइ औसत वार्षिक २४ हजार ३९० रुपियाँ मात्रै छ । यस कार्यक्रममा चार वर्षसम्म पाँच लाख ९० हजार ९९७ जनाले रोजगारी प्राप्त गरेका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.