ट्रेड युनियनअन्तर्गत संगठित हुन पाइन्छ

| 2022 Aug 26 | 07:50 am 1909

काठमाडौं, भदाै १०ः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगरका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएपछि महानगरको शिक्षक नेताले फरक प्रतिक्रिया दिएका छन् । सामुदायिक विद्यालयसँग आबद्ध शिक्षक संघ–संगठनले पार्टीसँग आबद्ध भए पनि आफूहरुले ट्रेड युनियन अधिकारसँग सामेल भएको बताएका छन् ।

मेयरले जारी गरेको विज्ञप्तिमा सरकारी विद्यालयमा प्रधानाध्यापकदेखि शिक्षक भएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकट काठमाडौं महानगरपालिका कमिटीका अध्यक्षले पार्टीको नाममा राजनीति गर्न नहुने आशय देखिएको छ । तर, शिक्षकले आफूहरुले कुनै राजनीति नगरेको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ कामपा कमिटीका अध्यक्ष एवं पद्माेदय माविका प्रअ नारायण गौतमले नेपाली कांग्रेससँग आबद्ध भए पनि पार्टीको सदस्यता नलिएको र पार्टीमा नलागेको बताए । उनले भने– ‘पार्टीको शुभेच्छा राख्ने संस्था हो । भ्रातृ संगठन होइन ।’ कामपा प्रमुख बालेन्द्र साहले तीन दिनअघि विज्ञप्ति जारी गरी काठमाडौं महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल गरेका थिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.