काठमाडौं, भदाै १०ः मापदण्डविपरीत संरचना निर्माण गरेको जनाउँदै काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटाको भूमिगत तला जाने बाटो खाली गरेका छन् ।
भवनको बेसमेन्टमा औषधि र ल्याबसहितको संरचना बनाएको भन्दै मेयर बालेन्द्र साहले त्यसलाई तत्काल हटाउन आग्रह गरेका थिए । त्यस बेला अल्फाबिटाका सञ्चालक द्विराज शर्माले अटेर गरेपछि दोस्रोपटक जोडरसहित आएर भत्काएको हो । कामपाले हिजो बिहीबार बानेश्वर र तीनकुने, वरपरका आधा दर्जन संरचना हटाउन आग्रह गरेको थियो ।
बिहान बुद्धनगरको एक घरमा पुगेर बेसमेन्टमा सञ्चालन गरेको वर्गर हाउस बन्द गराएको थियो । त्यसपछि सो क्षेत्रमा मापदण्डविपरीत बनेको संरचना हटाउन माइकिङ गरेका थिए । मेयरसहितको टोली शंखमूलमा बेसमेन्टमा रहेको मुक्तिनाथ विकास बैंकमा पुगेको थियो । कामपाले बैंकका कर्मचारीलाई सो स्थानबाट बैक सार्न आग्रह गरेका थिए ।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार बन्द गराइएका सबै व्यवसाय त्यहाँबाट अन्यत्र सार्नुको विकल्प नभएको बताए । उनले भने– ‘क्षति नहोस् भनेर आफैं स्थानान्तरण गर्न आग्रह गरेका हाैं, नमाने बाध्य भएर भत्काउनेछौं ।’ उनले सो क्षेत्रमा एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको जानकारी दिए । अनुगमन जानुअघि मेयरसहितको टोली बिहान वडा नम्बर १० मा बैठक बसेर निर्णय गरेको थियो ।
कामपा शहरी विकास विभाग निर्देशक सुरज शाक्यले लिस्ट उपलब्ध गराएपछि एक्सनमा पुगेको थियो । मेयर साहले मापदण्डविपरीत भएका सबै संरचना हटाउने जानकारी दिएका थिए । नेपाल समाचारपत्रबाट