पानीको बहाव बढेपछि कालिगण्डकी किनारका बासिन्दालाई सचेत हुन आग्रह

रिपोर्ट नेपाल | 2018 Aug 05 | 11:27 am 2167

काठमाडौं, साउन २०: केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि गण्डकी किनारमा बसोबास गर्दै गरेका सर्बसाधारणलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

पर्वतबाट यूवा व्यवसायी विप्लव हमालले दिएको जानकारी अनुसार कालीगण्डकी एक्कासी बढेर आएको कारण अहिले सर्वसाधारणलाई सचेत पार्ने काम भएको छ । मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन् ।

पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने गर्छ । धेरै जोखिममा कालीगण्डकी नदी किनार पर्वतको बारी, बेनी तथा बागलुङको सिमाना मालढुंगाको माझी बस्तीसहित मोदीवेणी, सेतीवेणी र पुर्तिघाट बजार छन् ।

पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताएका छन् ।

तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत गराएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.