स्याङ्जा कांग्रेस सभापति पंगेनीको हृदयघातबाट निधन

| 2018 Aug 05 | 10:44 am 3812

काठमाडौं, साउन २०: नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं पूर्वसभासद् कमल पंगेनीको हृदयघातबाट निधन भएको छ । संगठनका शिलसिलामा भिरकोट नगरपालिका पुगेका सभापति पंगेनी नगर सभापति तोयनाथ अर्यालको घरमा बास बसेका थिए ।

राती अबेर सम्म पार्टीको गतिविधि बारे छलफल गरी सुतेका पंगेनी बिहान सभापति अर्यालका परिवारले चिया लिएर जादा अचेत अवस्थामा थिए । पंगेनीका सहयोगी यूवराज पाण्डेले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार हृदयघातबाट अचेत रहेको पंगेनीलाई स्याङ्जा स्थित कालिका सामुदायीक अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

आफूले होस संहालेदेखि नेपालको प्रजातन्त्रीक आन्दोलनमा सकृय पंगेनी २०४३ सालमा तत्कालिन नेविसंघका केन्द्रीय अध्यक्ष बालकृष्ण खाँणको समितिमा केन्द्रीय सदस्य रहेका थिए ।

५४ बर्षीय पंगेनी पार्टी भित्र अनुशासित र अन्यायका बिरुद्ध सधै आवाज उठाउने व्यक्तिका रुपमा परिचित थिए । पार्टी विभाजन हुँदा नेपाली कांग्रेस (प्रजातान्त्रीक) को स्याङ्जा सभापति रहेका उनी हाल दोस्रो काल स्याङ्जाको सभापतिका रुपमा कार्यरत छन् ।

जिल्ला विकास समितिको दुई कार्यकाल सदस्य रहेका पंगेनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । पटक पटक महाधिवेशन र महासमिति सदस्य रहेका पंगेनीको अकल्पनीय निधनले पार्टीलाई अपुरणीय क्षती भएको उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

उप सभापति निधिका अनुसार पंगेनी आफूलाई चित्त नबुझेको कुरा नेतृत्वसँग प्रष्ट राख्ने र कुनै छलकपट नभएको नेता थिए । पंगेनीको शवलाई बिहान ११ बजे अन्तिम श्रद्धान्जलीका लागि स्याङ्जा पार्टी कार्यालयमा लैजाने बताइएको छ । पंगेनीलाई अन्तिम श्रद्धान्जली दिन सभापति शेरबहादुर देउवा लगाएतका नेता स्याङ्जा जाने बुझिएको छ । स्वर्गीय पंगेनीकाे भाेली साेमबार  हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने नेपाली कांग्रेस स्याङ्जाले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.