हवाई उद्धार गरिएकी सुत्केरीको ज्यान जोगियो, शिशुको मृत्यु

| 2022 Aug 22 | 05:58 pm 2205

बैतडी, भदाै ६ः बैतडीको सिगास गाउँपालिका–६ थालाकाँडाबाट हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पुर्‍याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ। डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दिपेन्द्र धामीले जानकारी दिए।

स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेकी २० वर्षीया बिन्दु धामीको हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरीको  स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार भइरहेको छ। आइतबार बिहानदेखि सुत्केरी व्याथा लागेकी सोमबार दिउँसो हवाइ उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको थियो।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सुत्केरी हवाई उद्धार कार्यक्रमले सुत्केरी महिलाको ज्यान जोगिएको भए पनि शिशुको भने मृत्यु भएको छ। जिल्ला सदरमुकामबाट निकै टाढा रहेको सिगासमा यातायातको सहज पहुँच नहुँदा सुत्केरी महिलाले समस्या भोग्दै आएका छन्। सिगासमा कच्ची सडक भए पनि बर्षातको समयमा ती सडकहरु बन्द हुने गरेका छन्। बर्षातको समयमा सडक बन्द हुँदा आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउन कठिन हुने गरेको छ। यस अघि पनि सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.