चितवन,साउन २०: पटक पटक पहिरोको कारण यात्रुलाई दुःख दिदै आएको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति देखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नियमित बर्षा र पहिरोको कारणले रातको समयमा सफा गर्न नसकिए पनि आइतबार बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको प्रहरीले जनाएको छ । घुमाउनेमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।
सोही ठाउँमा शनिबार दिउसो पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रु कष्ट भोग्न बाध्य भएका छन् ।