कसरी कोमिन्ताङ बन्दै छ नेपाली कांग्रेस ?

रिपोर्ट नेपाल | 2022 Aug 20 | 11:45 am 1781

  • विन्दुकान्त घिमिरे

घटना ०६० साल तिरको हो, त्यतिबेला देशको शासन सत्ता राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष सञ्चालन गरेको अवस्था थियो । ग्रामीण क्षेत्रमा माओवादीको शासन थियो भने सहरी क्षेत्रमा राजाको शासन थियो । नेपाली कांग्रेसका कार्यकर्ता दोहोरो मारमा परेका थिए । नेपाली कांग्रेसलाई राजाले पनि मुख्य दुस्मनको व्यवहार गरेका थिए भने माओवादीले पनि मुख्य दुस्मन मन्दै कांग्रेस कार्यकर्तालाई मार्ने अभियान नै चलाएको थियो । त्यतिबेला कांग्रेस दोबाटोमा खडा भएको थियो । एकातिरको बाटो थियो, ‘राजासँग सहकार्य गरेर माओवादीलाई समाप्त गर्ने ।’ अर्कातिरको बाटो थियो, ‘माओवादीसँग सहकार्य गरेर राजालाई समाप्त गर्ने ।’ यी दुई बाटो मध्ये कुन बाटो तय गर्ने ? भन्ने विषयमा छलफल हुँदा कांग्रेसको बैठकमा निकै ठूलो चर्काचर्की भयो । यो चर्काचर्कीको आवाज बैठक हल बाहिरको प्रांगणका समेत आएको थियो ।

त्यो खैलाबैलामा ज्यादै नै चिच्याहटपूर्ण नारी आवाज सुनियो । त्यो आवाज थियो, ‘नाइँ, नाइँ, हुँदैन, हुँदै हुँदैन, कांग्रेस कोमिन्ताङ बन्छ ।’ बैठकको बीचमै उठेर असिनपसिन हुँदै नेतृ शैलजा आचार्य बाहिर निस्किन् । उनले संवाददाताहरूसँग भनिन्, ‘कांग्रेसलाई कोमिन्ताङ बनाउने प्रस्ताव गिरिजाबाबुले खुला गर्नुभयो, बैठकमा बस्नै नसकेर म हिँडे ।’ त्यसपछि शैलजा आचार्य कांग्रेसको बैठकमा जानै छाडिन् । कांग्रेसले पनि केही समय यो एजेन्डालाई थाति राख्यो । कांग्रेस एक्लै आन्दोलनमा होमियो । तर आन्दोलनमा चार÷पाँच सय जनाको भन्दा सहभागिता भएन । कांग्रेस शक्तिहीन भइसकेको ठम्याइमा राजा ज्ञानेन्द्र शाह पुगे ।

उनले आफ्नो निरंकुश कदमलाई थप कसिलो बनाए । कांग्रेसप्रति राजा ज्ञानेन्द्र थप अनुदार बन्दै गएपछि नेपाली कांग्रेसभित्र पनि माओवादीसँग सहकार्य गरेरै भए पनि राजा फाल्ने, पछि जे होला होला, भन्ने मत बढ्दै भयो । फलस्वरूप कांग्रेसले माओवादीसँग मिलेर राजा फाल्ने निर्णय ग¥यो । कांग्रेसले निर्णय गरेको दुई÷चार महिनामै राजा फालिए ।

राजा फाल्ने हो भने कांग्रेस कोमिन्ताङ बन्छ भन्ने शैलजा आचार्य डिप्रेसनमा गइन् । डिप्रेसनकै कारण शैलजाको निधन भयो । राजा फाल्दा कांग्रेस कोमिन्ताङ बन्छ भन्ने अवधारण बोकेका तत्कालीन सभामुख तारानाथ रानाभाट त राजा फालिएको प्रारम्भिक घोषणा गरिएको दिन अर्थात ०६३ जेठ ४ गते मुर्छा नै परे । करिव २४ घण्टापछि होसमा आएका रानाभाटलाई पूर्ण निको हुन ६ महिना लाग्यो । राजा फाल्ने अभियानमा सहभागी भएको १८ वर्षको यो अवधिलाई हेर्ने हो भने नेपाली कांग्रेस कोमिन्ताङ पार्टी जस्तै समाप्तीको दिशातिर गइरहेको बुझ्न गारो छैन । यो अवधिको निर्वाचन तथा मत परिणामलाई विश्लेषण गर्ने हो भने यो कुरा पुष्टि हुन्छ ।

के हो कोमिन्ताङ ?

राष्ट्रिय कोमिन्ताङ पार्टी भनेको चीनको सबैभन्दा पुरानो पार्टी हो । प्रजातन्त्र स्थापना र जापानी विस्तारवाद परास्त गर्न डा.सनयात सेनको नेतृत्वमा कोमिन्ताङ गठन भएको हो । आफ्नो उद्देश्य अनुरूप कोमिन्ताङ पार्टीले राजालाई संविधानको दायराभित्र ल्याएर चीनमा प्रजातन्त्र स्थापना ग¥यो । जापानी अतिक्रमणकारीहरूलाई पनि चीनको मुख्य भूमिबाट लखेट्यो । केही वर्षपछि माओत्सेतुङ्को नेतृत्वमा जनयुद्ध सुरु भयो । यही मौका पारेर निरंकुश राजतन्त्रले आफ्नो फणा उज्यायो । जापानले फेरी अतिक्रमण ग¥यो ।

एकातिर माओको जनयुद्ध, अर्कातिर राजाको निरंकुश कदम र अझ अर्कातिर जापानी आक्रमण भएपछि कोमिन्ताङ पार्टीले ऐतिहासिक निर्णय गर्नुपर्ने अवस्था आयो । उसले पहिलो रणनीति तय ग¥यो, ‘राजा र कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर जापानी आक्रमण परास्त गर्ने ।’ यो रणनीति सफल भयो पनि । त्यसपछि दोस्रो रणनीति तय ग¥यो, ‘कम्युनिस्टसँग मिलेर राजतन्त्र फाल्ने ।’ यो रणनीतिमा पनि सफल भयो ।’

तर राजतन्त्र फालिनासाथ कम्युनिस्टहरूको निसाना कोमिन्ताङ पार्टी स्वयं बन्यो । कोमिन्ताङको सत्तालाई कम्युनिस्टहरूले विस्थापित गर्दै गर्दै लगे । अन्तिममा करिब २० लाख नेता तथा कार्यकर्तासहित कोमिन्ताङ पार्टी भागेर ताइवान गएर बस्यो । अहिले पनि ताइवानमा कोमिन्ताङकै शासन छ, चीनको मुख्यभूमिका कम्युनिस्ट पार्टीको शासन छ । तर, ताइवानमा पनि आफ्नो शासन कायम गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको प्रयत्न जारी छ ।जसरी कम्युनिस्टहरूको सहकार्यमा राजतन्त्र फाल्दा चीनमा कोमिन्ताङ पार्टी समाप्त भएको थियो, त्यही हविगत नेपालमा नेपाली कांग्रेसले बेहोरिरहेको संकेत देखिएको हो कि ? भन्ने विश्लेषण यतिबेला भइरहेको छ । खासगरी आफ्नो मुख्य आधार क्षेत्र मधेसबाट कांग्रेसको जरा करिबकरिब उखेलिएको छ । पहाडी क्षेत्रमा त कांग्रेस यसै पनि धरापमा छ । कम्युनिस्ट पार्टीहरू मिल्नासाथ कांग्रेस समाप्त हुन्छ भन्ने स्पष्ट तस्बिर आइसकेको छ ।

जुन कारणले छिमेकी देश भारतमा राष्ट्रिय कांग्रेस खस्कँदै खस्कँदै अस्तित्व रक्षाको सामना गरिरहेको छ, नेपालमा पनि नेपाली कांग्रेसको हालत करिबकरिब त्यस्तै छ । भारतलाई अंग्रेजको पञ्जाबाट स्वतन्त्र बनाउन राष्ट्रिय कांग्रेसको जे भूमिका छ, नेपाललाई राणाशासनबाट मुक्त गरी जनतालाई स्वतन्त्रता दिलाउन नेपाली कांग्रेसको त्यति नै महत्वपूर्ण भूमिका छ । तर, पछिल्ला कालखण्डमा नेपाल र भारतका यी दुवै राजनीतिक दल अस्तित्व रक्षाको संकट सामना गरिरहेका छन् ।

प्रश्न नेपाल र भारतको मात्रै होइन, उत्तरको छिमेकी मुलुक चीनको पनि राष्ट्रिय कोमिन्ताङ पार्टी ताइवानमा मात्रै सीमित भएको ७० वर्ष नाघिसकेको छ । चीनमा गणतन्त्र स्थापना गरेको, जापानी उपनिवेशबाट चीनलाई स्वतन्त्रता दिलाएको भनेको कोमिन्ताङ पार्टीले हो । तर, त्यही पार्टी चीनमा समाप्त भयो । कुनै बेलाका डाइनोसरहरू पृथ्वीबाट लोप भए जस्तै उचित परिस्थितिमा उचित निर्णय गर्न नसक्ने राजनीतिकदलहरू पनि लोप भएर जान्छन् भन्ने उदाहरण चीनमा कोमिन्ताङ बनिसकेको छ, भारतमा राष्ट्रिय कांग्रेस यस्तै उदाहरण बन्दै छ । यता नेपालमा पनि नेपाली कांग्रेसले भारतको राष्ट्रिय कांग्रेस र चीनको कोमिन्ताङ पार्टीको बाटो तय गरिसकेको छ ।

कसरी गयो नेपाली कांग्रेस कोमिन्ताङको बाटोमा ? भारतीय राष्ट्रिय कांग्रेसले जुन गल्ती गरेर आफूलाई समाप्तीको बाटोतर्फ लगेको थियो, त्यही गल्ती नेपाली कांग्रेसले कसरी अनुसरण गरिरहेको छ ? भन्ने प्रश्न राजनीतिक क्षेत्रका दिग्गजहरूको बुद्धिविलासका लागि निकै सान्दर्भीक देखिएको छ ।

नेपाली कांग्रेसको खस्कँदो स्थिति

बहुदलीय प्रणालीअन्तर्गत नेपालमा पहिलो आमनिर्वाचन भएको ०१५ सालमा हो । ०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले कुल १ सय ९ सिट मध्ये ७५ सिटमा चुनाव जितेको थियो । यो भनेको करिव ७० प्रतिशत हो । तर, त्यतिबेला नेपाल कम्युनिस्ट पार्टीले जम्मा चार सिट जितेको थियो । यो भनेको तीन प्रतिशतभन्दा पनि कम हो । पहिलो आमनिर्वाचनमा १ सय ९ सिटमध्ये ७५ सिटमा चुनाव जितेको नेपाली कांग्रेस गत आमनिर्वाचनमा १ सय ६५ सिटमध्ये जम्मा २३ सिटमा खुम्चियो । यो भनेको करिव १६ प्रतिशत हो । नेपाली कांग्रेस ७० प्रतिशतबाट झरेर १६ प्रतिशतमा खुम्चिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीले भने तीन प्रतिशतबाट बढाएर ७० प्रतिशत सिट पु¥याएको देखिन्छ । पहिलो आमनिर्वाचनमा १ सय ९ सिट मध्ये जम्मा चार सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले गत निर्वाचनमा १ सय ६५ सिटमध्ये १ सय १६ सिटमा जित हासिल ग¥यो । अन्य कम्युनिस्ट पार्टीहरूले थप दुई सिट जिते ।

राणाशासनको समाप्तीपछि ०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनबाहेक पनि पञ्चायती शासनको समाप्तीपछि नेपालमा ६ वटा आमनिर्वाचन सम्पन्न भए । यी ६ वटा आमनिर्वाचनको परिणाम विश्लेषण गर्ने हो भने जुुनबेलादेखि नेपाली कांग्रेसले कम्युनिस्टहरूलाई बुइँमा बोकेर गणतन्त्रको लाइन समात्यो, त्यो बेलादेखि नेपाली कांग्रेसको अवस्था निरन्तर ओरालो लाग्दै गएको देखिन्छ । ०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले एकल बहुमत हासिल गरेको थियो । ०५१ सालको मध्यावधि आमनिर्वाचनमा ठूलै विद्रोह भए पनि कांग्रेसको अवस्था खासै खस्किएको देखिएन । ०५६ सालको आमनिर्वाचन पनि कांग्रेसले एकल बहुमत ल्यायो ।

तर, ०६४ र त्यस यता भएका आमनिर्वाचनमा भने नेपाली कांग्रेस लगातार ओरालो लागिरहेको छ । हुँदाहुँदा आसन्न आमनिर्वाचनमा त नेपाली कांग्रेसले आफ्नो एकल बहुमतका लागि जनतासँग भोट माग्ने हैसियतसमेत गुमाएको छ । अब नेपाली कांग्रेस जनतासँग भन्दै छ, ‘हामी माओवादीको साथ सहयोग लिएर बहुमतको सरकार गठन गर्छौं, त्यसैले हामीलाइै भोट दिनोस् ।’ अब जनताले माओवादीको बैसाखी टेकेर सरकार बनाउने उद्घोष गरेको नेपाली कांग्रेसलाई किन भोट दिने ? भन्ने प्रश्न कम टड्कारो छैन ।

०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले चाहे हिमाल होस् या तराई, पहाड होस् या भित्री मधेस, जहाँतहीँ चुनाव जितेको थियो । सुदूरपश्चिमदेखि सुदुरपूर्वसम्मका सबै समुदायमा नेपाली कांग्रेसको एकल वर्चश्व थियो । तर, ०४८ सालको आमनिर्वाचनमा भने कांग्रेसको संगठन मध्य तथा पूर्वी पहाडमा नराम्रोसँग समाप्त भएको पुष्टि भयो ।

हुन पनि ०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बुढीगण्डकी पूर्व अर्थात धादिङदेखि पूर्वका पहाडी क्षेत्रमा चुनाव जितेको भनेको सात वटा निर्वाचन क्षेत्रमा मात्रै हो । तर मधेस, पश्चिम पहाड र सुदूरपश्चिममा एकलौटी जितेका कारण नेपाली कांग्रेसले बुहमत प्राप्त ग¥यो । ०५१ र ०५६ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको अवस्था पश्चिम पहाड र सुदूरपश्चिम पहाडमा पनि खस्कियो, तर मधेसमा पकड कायमै रहेका कारण कांग्रेसलाई बहुमत हासिल गर्न गारो भएन । यसरी मधेसको साथ सहयोगले नै कांग्रेले बहुमत हासिल गरिरह्यो ।

तर ०६४ यता भने मधेसमा नेपाली कांग्रेसको संगठन करिब करिब ध्वस्त भएको छ । त्यस यता नेपाली कांग्रेसले मधेसमा नगन्य सिट जितेको छ । जबसम्म मधेसको साख फिर्ता गर्न कांग्रेसले सक्दैन, तबसम्म नेपाली कांग्रेसले मुलुकलाई विगतमा जस्तै बहुमतको सरकार दिन्छ भन्ने कुराको कल्पना नगरे हुन्छ । किनकी मधेसी समुदायको जनसंख्या ३० प्रतिशतभन्दा बढी छ । मधेसमा कम्युनिस्टहरूको पकड बढ्दो छ । नेपाली कांग्रेसको ठाउँ मधेसीदलहरूले लिइरहेका छन् । जबसम्म मधेसीदलहरूको अस्तित्व रहन्छ तबसम्म नेपाली कांग्रेसले मधेसबाट पहिलेको जस्तो सिट जित्ने कल्पना गर्नु बेकार हुन्छ ।

मधेसबाट किन बढारियो कांग्रेस ?

नेपाली कांग्रेस मधेसमै जन्मेर मधेसमै हुर्केको पार्टी हो । मधेसी समुदायकै बलबुतामा नेपाली कांग्रेसले आफूलाई स्थापित गरेको हो । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला हिन्दी भाषाका विख्यात साहित्यकार थिए, उनी मधेसमै जन्मेका थिए । मैथली भाषामा पनि नेपाली भाषा सरहकै पकड बिपीले राख्थे, किनकी बिपी त्यही समुदायमा जन्मे हुर्केका थिए । अर्का नेता सुवर्णशमशेर राणाको पनि धेरैजसो बसोवास मधेस तथा भारतको कलकत्तामा थियो ।

संस्थापक नेता कृष्णप्रसाद भट्टराईको मधेसमा चार पुस्ता बितेको थियो । अर्का नेता राजेश्वरीप्रसाद उपाध्यायको वंशज त सेनराजाकै पालादेखि मधेसमै थियो । पहाडी समुदायको भए पनि मधेसी जस्तै भइसकेका बोधप्रसाद उपाध्याय घिमिरे, सरोज कोइराला, रुद्रप्रसाद गिरि, लगायतका नेताहरूको राम्रो पकड थियो ।

यसैगरी मधेसी समुदायकै महेन्द्रनारायण निधि, रामनारायण मिश्र, परशुनारायण चौधरी, राधाकृष्ण थारू, सेख इद्रिश, भागवतप्रसाद यादव लगायतको पकड र प्रभाव निकै बलियो थियो । मधेसी जनताले आपूmलाई नेपाली कांग्रेस भएकोमा गर्व गर्ने गर्थे । तर ०४८ सालपछि नेपाली कांग्रेसमा मधेसी नेता तथा कार्यकर्ताको सहभागिता खस्कँदै गयो । मधेसी समुदाय बुझेका पहाडीया नेताहरूको पनि नेपाली कांग्रेसमा खडेरी प¥यो । पहाडमा हारिने भएकोले चुनाव लड्न मधेस झर्ने कांग्रेस नेताहरूको ताँती लाग्यो । मधेसबाट मधेसी समुदायको नेताको राजनीति समाप्त पारिदिने र रिक्त भएको ठाउँमा पहाडी समुदायका नेता चुनाव लड्न मधेस झर्ने प्रवृत्ति बढ्न थाल्यो । जसका कारण नेपाली कांग्रेसका पुराना नेताहरूले छुट्टै मधेसीदल खोल्न थाले । एकातिर नेपाली कांग्रेसको भोट मधेसीदलतर्फ अकर्षित हुन थाल्यो । अर्कातिर कम्युनिस्टहरूको मत मधेसमा बढ्न थाल्यो ।

अहिलेसम्म आइपुुग्दा मधेसमा नेपाली कांग्रेसको जनमत २० प्रतिशत भन्दा तल झरेको छ । कुनै बेला ८० प्रतिशत मधेसीले कांग्रेसलाई भोट दिन्थे, तर ०६४ साल यता नेपाली कांग्रेसले मधेसबाट जम्मा २० प्रतिशतभन्दा कम भोट पाउन थालेको छ । तर, त्यो २० प्रतिशतभित्र पनि पहाडी समुदायको भोट उल्लेख्य छ ।

मधेसीदल जति बढी संस्थागत हुँदै जान्छन्, मधेसमा कांग्रेस पनि त्यसरी नै खस्कँदै जान्छ । तैपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसीदलहरूलाई संस्थागत गर्ने आत्मघाति कदम चल्न थालेका छन् । भारतमा राष्ट्रिय कांग्रेस समाप्त हुनुको मुख्य कारण यस्तै क्षेत्रीयदलहरूसँग सहकार्य तथा चुनावी तालमेल गर्नु हो । त्यही बाटो कांग्रेस सभापति देउवाले अवलम्वन गर्न थालेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले लोसपासँग संघीय र प्रदेश निर्वाचनमा तालमेलको प्रस्ताव गरेका छन् । कांग्रेसले जसपासँग तालमेल गर्ने गृहकार्य यसअघि नै गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसँग त कांग्रेसले तालमेल गर्ने भइहाल्यो । अब मधेस प्रदेशमा कांग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपा गरी पाँच पार्टीबीच सिट बाँडफाँड गर्नुपर्नेछ ।

मधेस प्रदेशमा प्रतिनिधिसभाका जम्मा ३२ सिट छन् । मधेस केन्द्रित जसपा र लोसपाको अन्य प्रदेशमा संगठन छैन । उनीहरूले सिट माग्ने र चुनाव जित्ने भनेको मधेस प्रदेशमै हो । कम्तिमा पनि जसपा र लोसपाले मधेसका ३२ सिटमध्ये ८÷८ सिट माग्नेछन् । अब बाँकी रहन्छन् १६ वटा सिट । यी १६ वटा सिट कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच बाढ्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कांग्रेसले पाउने भनेको बढीमा ८ सिट मात्रै हो ।

३२ सिट भएको मधेस प्रदेशमा नेपाली कांग्रेस ८ सिटमा मात्रै उम्मेद्वारी दिनुपर्ने अवस्थामा पुग्नु भनेको करिब करिब समाप्तीको बाटो हो । अहिले पनि मधेस प्रदेशमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको कमी छैन । मधेस प्रदेशमा कांग्रेसभित्र टिकटका आकांक्षीहरू करिब दुएै सय जना छन् । जसमध्ये आठ जनालाई दिँदा अरू के गर्लान् ? कम्तिमा पनि विमलेन्द्र निधि, महेन्द्र यादव, उमाकान्त चौधरी, चित्रलेखा यादव, सीतादेवी यादव, रमेश रिजाल, अजय चौरासिया, पद्मनारायण चौधरी, तेजुलाल चौधरीलगायत दुई दर्जनलाई टिकट नदिने हो भने नेपाली कांग्रेस मधेसमा चुनाव नलडे पनि हुने अवस्था बन्छ ।

एकातिर नेपाली कांग्रेसभित्रका प्रभावशाली मधेसी नेताहरूको राजनीति समाप्त पारिदिने, अर्कातिर मधेसीदलसँग सहकार्यको हात बढाउने सभापति देउवाको यो कदमले मधेसमा कांग्रेसको अवस्था थप खस्कने निश्चित छ ।

बिपी कोइरालाको दूरदर्शिता

मधेसमा कांग्रेस बलियो हुनुको मुख्य कारण बिपी कोइरालाको दूरदर्शी नेतृत्व हो । बिपीको नेतृत्वले मधेसलाई कांग्रेससँग अभिन्न रूपमा जोडेको थियो । मधेस र कांग्रेस एकअर्काका पर्याय थिए । मधेस होस् वा पहाड, बिपीका दुई÷तीन वटा गुणहरू थिए । ती गुणले बिपी राजनेता बनेका थिए ।पहिलो खुबी बिपी कोइराला कार्यकर्तालाई पक्षपात गर्दैनथे । हाम्रो होइन कि राम्रो हुनुपर्छ भन्ने भावना उनमा थियो । बिपीसँग अर्को गुण थियो, ‘कुनै पनि समुदायलाई विश्वास दिलाउन सक्ने ।’ ‘मैले गर्छु भनेपछि बिपीले गर्छन् भन्ने विश्वास मधेसी समुदायमा थियो । बिपीको महत्वपूर्ण अर्को गुण थियोे, ‘उनले नेपालको एउटा समुदाय र अर्को समुदायबीच सम्बन्ध जोड्न सक्थे ।’

मधेसी मञ्चमा बिपीले कहीँ पनि नेपाली भाषामा बोलेनन् । मैथली भाषा बोल्नसक्ने थिए । मधेसलाई पहाडसँग जोड्नका लागि हिन्दी पनि बोले । बिपी कोइराला हिन्दी भाषाका साहित्यकार पनि हुन् । पहाड र मधेसबीच सहजै सम्बन्ध जोड्ने क्षमता भएका बिपीले मधेस भित्रका पनि सीमान्तकृत जनताको आवाज बोले । मधेसी जनताले पनि कांग्रेसकै ठूलो जात वा जमिनदार मधेसी नेताभन्दा त कम स्वार्थ भएको बिपीलाई रोजे । मधेसी जनताले जमिन्दार भद्रकाली मिश्रलाई पत्याउनुभन्दा बिपीलाई पत्याउन उचित ठाने ।

०१५ सालको आमनिर्वाचनमा बिपी कोइरालाले भनेका थिए, ‘अब अर्को निर्वाचनमा करिव एक दर्जन जति मधेसी नेताहरूलाई पहाडबाट टिकट दिएर चुनाव जिताउँछु, अनि मात्रै पहाड र मधेसी समुदाय एकआपसमा जोडिन्छ र राष्ट्रियता बलियो हुन्छ । यसैगरी ०३६ सालको जनमत संग्रहमा बिपी कोइरालाले घोषणा गरेका थिए, ‘म अब प्रधानमन्त्री बन्दिनँ, बहुदल आउनासाथ मधेसी समुदायको नेतालाई प्रधानमन्त्री बनाउने सोच मेरो छ , त्यसका लागि अहिलेसम्म सबैभन्दा उपयुक्त पात्र परशुनारायण चौधरी हुनुहुन्छ ।’

तर ०४६ सालमा बहुदल आएपछि कांग्रेसले बिपी कोइरालाको यो दूरदर्शिता ख्याल गरेन । जसका कारण मधेसी समुदाय कांग्रेसबाट भड्कियो । हुँदाहुँदा यतिबेला कंग्रेस सभापति देउवाले मधेसी समुदायको कांग्रेस प्रतिको लगाव सधँैका लागि समाप्त गरिदिने आत्मघाति कदम चाल्दै छन् । साैर्य अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.