काठमाडौं, भदौ १ः ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक टपेन्द्र खत्रीले ट्राफिक नियम पालना गराउन र सचेतना जगाउन विद्यार्थी वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बुधबार चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रहेको कंकाली माध्यमिक विद्यालयका कक्षा १० देखि १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि दिइएको सचेतना सम्बन्धी कक्षामा प्रहरी निरीक्षक खत्रीले उक्त कुरा बताएका हुन् ।

सफल महिला उद्यमी सेवा केन्द्रद्वारा आयोजना गरिएको सचेतना कक्षालाई संबोधन गर्दै प्रहरी निरीक्षक खत्रीले सवारी अनुमतिपत्र बिना सवारी चलाउँदा दुर्घटना हुँदा पाइने सजायका विषयमा प्रष्ट्याउँदै आफ्ना कारणले आफूले मात्र नभएर अन्यले समेत सजाय पाउने हुँदा अनुमतिपत्र लिएर मात्र चलाउन आग्रह गरे ।
ट्राफिक अज्ञानताका कारण र दुर्गतिका कारण हजारौंले ज्यान गुमाउनुपरेको खत्रीको भनाई रहेको थियो ।

सचेतना कार्यक्रममा आफ्नो धारणा राख्दै विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पनेरुले गुरुहरुले दिएको शिक्षालाई ग्रहण गर्दै त्यसलाई व्यवहारमा उतार्न सके मात्रै लिएको कक्षा उपयोगी हुने कुरामा जोड दिएको बताए ।

सफल महिला उद्यमी सेवा केन्द्रकी अध्यक्ष सम्झना प्रधानको सभापतित्वमा सम्पन्न सचेतना कार्यक्रममा संस्थाका सल्लाहकार बिनोद के.सीले संस्थाले आफ्नो सामाजिक दायित्व अनुसार कार्यक्रम राखेको जनाउँदै संस्थाको उद्देश्यबारे प्रकाश पारेका थिए ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सहकार्यमा भएको सचेतना कार्यक्रममा ७६ विद्यार्थीको उपस्थिति रहेको थियो ।