बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुने मन्त्री थममायाको दाबी

| 2018 Aug 04 | 08:46 pm 1642

पछिल्ला दिन मुलुकका विभिन्न भागमा बलात्कारका घटना बढेका छन् । यसरी जघन्य बलात्कारका घटना घट्दै गएपछि आमतप्काबाट बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग जनस्तरबाट फेरि चर्किएको छ । तर, सरकारले यो आवाजलाई सुनेको अनुभूति गरिएको छैन ।

यसै सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उनले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वश्वसहित जन्मकैदको सजाय हुने जानकारी दिइन् ।

सोही अवसरमा मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रूढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाका रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तवरबाट पहलकदमी चलाउँदै कानूनी प्रक्रियाबाट अघि बढ्न आग्रह गरिन् । वर्तमान सरकार दुई तिहाइ हाराहारीको जनताले दिएको मतबाट निर्माण भएको स्थिर सरकार भएकाले महिलाको हक, अधिकारका निम्ति मन्त्रालयका तर्फबाट आवश्यक कानून निमार्णको प्रक्रियामा रहेकाले निर्वाचित जनप्रतिनिधिहरुले हातमा हात काँधमा काध मिलाई सहयोग गर्न उनले आग्रह गरिन् ।

कार्यक्रममा संघको इञ्चार्ज राधा ज्ञावलीले निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भई अँध्यारोमा बत्तीको उज्यालो झैँ काम गर्न अनुरोध गरिन् भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अमृता थापाले महिलाको हक र अधिकारका निम्ति कानून निर्माणको चरणमा रहेको र कानून निर्माणपश्चात् कडाइका साथ कार्यान्वयन हुने बताइन् ।

संघकी पूर्वअध्यक्ष शान्ति मानवीले कानूनमा लेखिएका तर व्यावहारिकतामा प्रयोग नभएका महिलाका हक र अधिकारलाई व्यावहारिक रुपमा लागू गर्नुपर्ने धारणा राखिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.