उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई

रिपोर्ट नेपाल | 2022 Aug 13 | 01:35 pm 1333

काठमाडौं, साउन २८ः नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकको निर्णयमा ‘‘२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको  ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने’’ उल्लेख  छ ।

यसैगरी, निर्वाचनका लागि दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

बैठकले निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत् निर्देशन गर्ने र निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान भदौ २ गतेदेखि गर्ने निर्णयलाई परिमार्जन गर्दै भदौ १० देखि १४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.