श्रीएअरको जहाजमा धुवा निस्किएपछि आकस्मिक अवतरण

रिपोर्ट नेपाल | 2022 Aug 04 | 12:17 pm 1325

बाँके, साउन १९ः नेपालगञ्जबाट काठमाडाैँका लागि उडेको पाँच मिनेटमै श्री एयरको जहाज भित्र धुँवा निस्केपछि जहाजलाई पुनः नेपालगञ्ज फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

नेपालगञ्जदेखि काठमाडौँका लागि बिहीबार बिहान सवा ९ बजे उडेको ९ एन एएनएफ नम्बरको सो जहाज भित्र एक्कासी धुँवाको मुस्लो निस्केपछि जहाजलाई तत्काल फर्काएर आकस्मिक अवतरण गरिएको श्री एयरका नेपालगञ्ज स्टेशन प्रमुख पर्सुराम चौधरीले बताए ।

उनले उक्त जहाज नेपालगञ्ज विमानस्थलबाट उडेको करिब ८ मिनेटमै विमानस्थलमा आकस्मिक अवतरण गराइएको बताए । जहाज अवतरण गराउनुअघि सबै प्रकारको ईमरजेन्सी तयारी गरिएको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए ।

प्रमुख चौधरीका अनुसार सो जहाजमा ७९ जना यात्रु सवार थिए । उनीहरु सबै सकुशल रहेका छ्न । विमानमा चार जना चालक दलका सदस्यहरु पनि रहेका थिए ।

नेपालगञ्ज विमानस्थल सुरक्षा प्रमुख प्रेमसिंह भण्डारीले जहाजमा गडबडी भएर आकस्मिक अवतरण गर्ने सूचना आउने वित्तिकै आपतकालीन सबै तयारी गरिएको बताए ।

यात्रुहरु आत्तिएकाले जहाज अवतरण गर्ने वित्तिकै भागाभाग भएको जनाउँदै उनीहरुलाई दुबैतर्फको इमरजेन्सी ढोका र मुल ढोकाबाट झारिएको बताए ।

जहाजलाई अहिले नेपालगञ्ज विमानस्थलको पार्किंगमा राखिएको छ । जहाजको एउटा इन्जिनबाट निस्किएको धुँवा जहाज भित्र पसेको बताइएको छ ।

काठमाडौँबाट प्राविधिकसहितको टोली आएर चेकजाँच गरेपछि मात्र खराबीको कारण पत्ता लाग्ने श्री एअर नेपालगञ्जले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.