प्रहरी महानिरीक्षक सिंहबाट सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढी कैलालीको उद्‌घाटन

रिपोर्ट नेपाल | 2022 Aug 01 | 05:17 pm 1481

कैलाली, साउन १६ः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका-३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गरे । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृक्षारोपण समेत गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्वपूर्ण योगदान दिने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल प्रहरीको जनमूखी कार्यलाई निरन्तरता दिएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सिंहले अस्पतालले प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूमा प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितीको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारीता ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले चिकित्सकीय क्षेत्रका आधुनिक प्रविधि र विकासलाई आत्मसात गर्दै अस्पतालको स्तरोन्नती र विकास संगठनको प्राथमिकतामा रहेको बताए ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशी लगायतका महानुभावले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, संचारकर्मी, समाजसेवी लगायतको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.