पोखरा, साउन १६ : कर्मचारी युनियनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तालाबन्दी गरेको छ । आफ्ना माग पूरा नगरी नयाँ कर्मचारी नियुक्तिका लागि सिफारिस गरेको भन्दै युनियनले अस्पतालमा तालाबन्दी गरेको हो ।
युनियनले अस्पतालको प्रशासन शाखा, उपकुलपतिको कार्यालय र प्रतिष्ठान निर्देशकको कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठको नेतृत्वमा गएको एक समूहले तीनवटै कार्यालयमा ताल्चा लगाउँदै अनिश्चितकालका लागि बन्द गरेको विज्ञप्ति टाँसेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘युनियनको तर्फबाट पटक(पटक दिइएको ज्ञापनपत्रको विषयमा कुनैपनि सुनुवाई नभएको हुँदा यही साउन १८ गतेदेखि उपकुलपति कार्यालय, निर्देशक कार्यालय र प्रतिष्ठानको प्रशासन शाखा अनिश्चितकालीन बन्द गरिएको जानकारी गराइन्छ ।’
तालाबन्दी गरेपछि युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठले आफूहरुको माग बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दीमा उत्रिनुपरेको बताए ।