काठमाडाैं, साउन ५ः टीएमटी छड उत्पादन गर्दैै आएको रुपन्देहीको श्री स्टिल्स प्रालिले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ । नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री स्टिल्स पहिलो उद्योग हो ।
कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भारतको उत्तर प्रदेश राज्यमा पठाएको छ । भैरहवाको बेलहिया नाका हुँदै भारत महाराजगन्ज जिल्लाको कुनसेरवामा पहिलो पटक निर्यात सुरु गरेको उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बताए । अग्रवालले आगामी दिनमा भारतीय बजारको मागअनुसार निर्यात बढाउँदै लैजाने योजना रहेको सुनाए । सरकारको नीतिका कारण निर्यात सहज भएको भन्दै उनले नीतिअनुसारका अन्य काम फटाफट भए अझै सहज हुने जनाए ।
सरकारले हालैको बजेटमा स्टिल (छड), सिमेन्ट, मिनरल वाटर तथा जुत्ता–चप्पल जस्ता स्वदेशी उत्पादन भारत तथा तेश्रो मुलुक निर्यात गर्दा उद्योगलाई ८ प्रतिशत नगद प्रोत्साहन प्रदान गर्ने निर्णय भएसँगै नेपाली स्टिल भारत निर्यात गर्न सहज भएको हो । उद्योगका प्रबन्ध निर्देशक अग्रवालले भने, “भारतबाटै कच्चा पदार्थ ल्याएर उत्पादन फेरि भारतमै बिक्रीका लागि पठाउनु चानचुने कुरा होइन । सरकारले जुन सोचले ८ प्रतिशत इन्सेन्टिभको नीति ल्यायो, त्यो नीतिले निर्यातमा सहजता भयो । भारतीय बजारमा भारतीय उत्पादनसँग नेपाली स्टिलले प्रतिष्पर्धा गर्न सहज वातावरण भएको छ, हामी खुसी छौं ।”
उद्योगले अनेक समस्या भोगिरहेको भन्दै अग्रवालले सरकारी नीति राम्रो आउँदा देशले छड भारत निर्यात गर्न सकेको बताए । उनले भने, “यो सुरुवात हो, हामी अवश्य सफल हुन्छौं र यसले बढ्दो व्यापार घाटामा कमी ल्याउन मद्दत गर्नुका साथै वैदेशिक मुद्रासमेत स्वदेश भित्र्याउने भएकाले अर्थतन्त्रलाई थप टेवा दिन्छ ।”
नेपालका स्टिल उद्योगहरुले वार्षिक करिब ३० लाख टन स्टिल उत्पादनको क्षमता राख्दै आएका छन् । ती उद्योगबाट उत्पादित स्टिल छडको खपत स्वदेशमा ५० प्रतिशत छ । बाँकी ५० प्रतिशत भारत निर्यात गर्न सकिने अग्रवालले बताए । निर्यातको पहिलो खेप भारत पठाउने उद्घाटन समारोहमा प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल तथा उद्योग सञ्चालनमा रहेको स्थान रोहिणी गाउँपालिकाका प्रमुख विद्या यादवले संयुक्त रुपमा झन्डा देखाई सामान बोकेको ट्रकलाई बिदाइ गरेका थिए ।
गाउँपालिका अध्यक्ष यादवले आफ्नो गाउँमा रहेको उद्योगले नेपालमै पहिलो पटक भारत निर्यात गर्न लागेको थाहा पाउँदा निकै खुसी लागेको भन्दै गाउँपालिका क्षेत्रमा उद्योग–व्यवसाय मैत्री नीतिका लागि आफू प्रतिबद्ध रहेको बताए । ५ वर्षअघि जापानी प्रविधि प्रयोग गर्दै सुरु भएको यो उद्योगको प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको उद्योगका ब्रान्ड म्यानेजर दीपक शाहले बताए । यो उद्योगको प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको छ भने दैनिक ८ सय टन स्टिल उत्पादन गर्दै आएको छ ।
उद्योगले स्पन्ज तथा स्क्राप आइरनबाट गुणस्तरीय बिलेटसमेत उत्पादन गरी अन्य स्टिल उद्योगलाई बिक्री गर्दै आएको उद्योगका प्रमुख कार्यकारी अधिकृत सोमश अग्रवालले बताए । उद्योगले नेपालमै पहिलो पटक भूकम्प र अग्नि प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिएको छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सको विशेषता भएको अग्रवालको भनाइ छ ।
श्री स्टिलमा केडिया अर्गनाइजेशन, सिद्धार्थ गु्रप, मुरारका गु्रप तथा उमा गु्रपको संयुक्त लगानी रहेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ सेमरहवामा रहेको उद्योगले श्री स्टिल्स टिएमटी फलामे छड उत्पादन गर्दै आएको छ । तीन अर्ब लगानी रहेको उद्योगमा ५ सय जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।
यसअघि नवलपरासीमा रहेको पाल्पा सिमेन्ट उद्योगले पनि तानसेन ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु गरेको थियो ।