जुम्ला, असार ३१ः जिल्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया विमला रावत र उनका छोरा ९ वर्षका भरत रावत र ८ वर्षका सूर्य रावत रहेका छन् ।
गएराति साढे दुई बजेतिर वर्षाका कारण पावरहाउस भासिँदा उनीहरूकाे मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बताए । प्रहरीका अनुसार मृत्यु भएकाहरु विद्युत आयोजनाका चौकीदार गोरखबहादुर रावतका श्रीमती र छोरा हुन्।
वर्षाले विद्युतको नहरमा क्षति पुर्याएपछि गोरख त्यसतर्फ लागेका थिए। ‘उनी फर्केर आउँदासम्म पावर हाउस भासिएर चौकीदार बस्ने घर पुरिसकेको थियो,’ उनले भने, ‘तत्कालै नजिकैको प्रहरी चौकी र स्थानीयले पुरिएका शवहरु निकालेका थिए।’
८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो। डिआइजी पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा टोली खटिएको छ। प्रहरी मुचुल्कापछि शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइने उनले जानकारी दिए।