चोभार बन्दरगाहबाट सुरु भयो निर्यात

रिपोर्ट नेपाल | 2022 Jul 13 | 07:49 am 1221

काठमाडौं, असार २९ः सरकारले औपचारिक उद्घाटन गरेर पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकेको काठमाडौं उपत्यकामा अवस्थित चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक सामान विदेश निर्यात गरिएको छ ।

चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक मंगलबार नेपाली वस्तु निकासी भएको हो । बन्दरगाहबाट एक ट्रक ऊन डेनमार्क निकासी गरिएको भन्सार कार्यालयले जनाएको छ ।

गत २२ चैतमा बन्दरगाह सञ्चालनमा आएपछि बन्दरगाहबाट पहिलोपटक वस्तु निकासी भएको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिएका छन् ।

भन्सार कार्यालयले सुख्खा बन्दरगाहबाट ५ हजार १ सय ३० जोडी जुत्ता पनि विदेश निर्यात भएको पनि जनाएको छ । हालसम्म बन्दरगाह सञ्चालनमा आएपछि १५ वटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत २२ चैतमा सो बन्दरगाहको सिलान्यास गरेका थिए । वीरगन्जबाट डिजिटल लक लगाएर आएका मालवाहक कन्टेनर बन्दरगाहमा प्रवेश गराई प्रधानमन्त्री देउवाले बन्दरगाहको उद्घाटन गरेका थिए ।
त्यसयता सो बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । उद्योग मन्त्रालय आफैंले पनि बन्दरगाह सञ्चालनका लागि पछिल्लोपटक सक्रियता भने बढाएको पाइएको छ ।

बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारी अन्तरनिकायबीच समन्वयको अभाव देखिँदै आएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले गत साता सिंहदरबारमा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने विषयमा सरोकारवालासँग छलफल गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले भने सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार तयार रहेको बताएका थिए ।

काठमाडौं उपत्यकामा नै सुख्खा बन्दरगाह सञ्चालनमा आउँदा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने आयात–निर्यात कार्यलाई सहज र सरल बनाई समय र लागत घटाउन सके व्यापारिक क्रियाकलापमा बढोत्तरी भई राजस्वसमेत बढ्ने अपेक्षा गरिएको छ ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत २ सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको काम भएको हो । विश्व बैंकको १ अर्ब ६७ करोड लागतको ऋण सहयोगमा आयोजना निर्माण गरिएको छ ।

एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्नेगरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । तर, वातावरण प्रदूषण, मुआब्जालगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले आठ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण निर्माणमा झनै ढिलाइ हुन पुगेको थियो ।

निजगढ द्रुत मार्ग, दक्षिणमा भारतसँगको रेलमार्ग, उत्तरमा चीनको केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाह व्यापारिक गतिविधिका लागि सामरिक महत्वका साथै निकै सस्तो हुने बताइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.