मकवानपुर,साउन १७ : जिल्ला प्रहरी कार्यालय मकवापुरले जिल्लाको छुट्टाछुट्टै स्थानबाट दुई सय भन्दा बढी गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ ।
गाँजा तस्करहरुको उद्गम स्थल मानिने हेटौडाबाट यस अघि पनि विरामी बोक्नकालागि प्रयोग गरिने एम्बुलेन्स लगाएतका सवारी साधनबाट समेत गाँजा नियन्त्रण गरेको थियो ।
विशेष सुराकीको आधारमा नियन्त्रणमा लिइएको गाँजाका विषयमा मकवानपुर प्रहरीले गम्भिर रुपमा अनुसन्धान अगाडी बढाएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार प्रहरीले अभियुक्तहरुलाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो ।
उक्त गाँजा मकवानपुर र धादिङका विभिन्न स्थानबाट संकलन गरी सिराहा हुँदै भारततर्फ लैजान लागिएको प्रहरीले दाबी गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मकवानपुरको मनहरी–९ खरङ्गाबाट उदयपुर ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङका ५८ वर्षीय पदम हमाल ठकुरी, सिराहा धनगढि नगरपालिका–३ बस्ने ३५ वर्षका सुरेशकुमार महतो, सिराहा औरहि गाउँपालिका–२ का ४४ वर्षीय छेदी दास र मकवानपुर राक्सिराङ गाउँपालिका–१ का ४२ वर्षीय कृष्णबहादुर मोक्तानलाई ८८ किलो ७ सय २० ग्राम गाँजा (चिप्पड) सहित पक्राउ गरेको हो ।
उनीहरुले बी आर आई पी २३४५ नम्बरको भारतीय बोलेरो जिपमा फल्सबटम बनाई लुकाई उक्त गाँजा ल्याएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हमाल गाँजाको मुख्य कारोबारी रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जानकारी दीएका छन् । ।
बोलेरो जिपका चालकसमेत रहेका छेदी दास यस अघि पनि गाँजाको कारोबार गर्दै गर्दा पक्राउ गरेका हुन । त्यसै गरी प्रहरीको गस्ती टोलीले आज विहीबार १ सय १५ केजी गाँजा सहित दिनेश मगर र ज्ञानबहादुर बुढासैलीलाई पक्राउ गरेको हो ।
उनीहरुले ना ३ च ४७६२ नम्बरको गाडीमा गाँजा लुकाइ ल्याएको प्रहरीले जनाएको छ ।
दिनेश मगर यस अघि पनि गाँजा र चरेशको कारोबारमा संलग्न रहेको बुझिएको छ । पक्राउ परेका ६ जनालाई लागू औषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाईएको छ ।