उत्कृष्ट किसान पुरस्कृत

| 2022 Jul 11 | 07:10 am 1737

जुम्ला, असार २७ः मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट जुम्लाका १४ जना किसानलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय र पशुसेवा तथा पशु अस्पताल जुम्लाले १४ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो । कृषितर्फका सात र पशुपालन तथा पशुपन्छीपालनतर्फ सात जना गरी १४ जना किसान मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए ।

उत्कृष्ट किसानलाई शुक्रबार एक कार्यक्रममा प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले पुरस्कार वितरण गरेकी हुन् ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयतर्फ तातोपानी–४ की गङ्गादेवी उपाध्याय (कालिजपालन), चन्दननाथ नगरपालिका–२ की कमला बुढथापा (बाख्रापालन), चन्दननाथ–३ कै अम्मरसिंह भ्रकी घाँसखेती, चन्दननाथ–३ का जङ्गबहादुर खत्री (भेडापालन), चन्दननाथ–६ का डिल्लीबहादुर रावल, गुठीचौर–५ का गोपाल महत (भैँसीपालन)तर्फ र कनकासुन्दरी–१ का कर्णसिंह कठायत जनही १० हजार रुपियाँ र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् ।

साथै कृषि क्षेत्रतर्फबाट तिला गाउँपालिका–८ का बुद्धि बस्नेत, पातारासी–४ की सुशीला बोहोरा, तातोपानी–१ का परान धराला, चन्दननाथ–५ का निरोजराज गिरी, गुठीचौर–५ की बबिता भण्डारी, सिन्जा–४ का गगनबहादुर शाही र कनकासुन्दरी–४ का नरबहादुर घर्ती पनि पुरस्कृत भएका छन् । उनीहरूलाई पनि जनही १० हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।  उत्कृष्ट किसानलाई सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.