तनहुँ, असार २६ः घिरिङ गाउँपालिका-५ मोचाबारी बस्ने ४० वर्षीय मान बहादुर थापालाई १ थान भरुवा बन्दुक सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी घिरिङ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
सिरहा, सिरहा नगरपालिका-९ गुलरियाबाट करिब ४ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने ३१ वर्षीय शम्भु प्रसाद यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा ५ वटा बोरामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।