देवघाट, असार २६ः एक सय वर्ष पुग्नै लाग्दा पूर्वन्यायाधीश योगनाथ उपाध्यायले घरबार त्यागी सन्न्यासी बने । गत वैशाख २० गते अक्षय तृतीयाका दिन गलेश्वर आश्रम देवघाटमा उनले सन्न्यास ग्रहण गरेका हुन् । उठबस गर्नसमेत छोराछोरीको सहारा लिनुपर्ने ९६ वर्षीय उपाध्यायले सन्न्यास दीक्षा लिएसँगै त्यसलाई पुनर्जन्म मानियो अनि परिचय फेरिँदै नयाँ नाम राखियो– स्वामी योगानन्द । पुरानै नामको सुरुको अक्षर प्रयोग गरेर नयाँ नाम राख्ने सन्न्यासी परम्पराअनुसार योगनाथको नाम योगानन्द भएको हो ।
विक्रम संवत् १९८६ फागुन १२ गते जन्मिएका उपाध्यायले ४२ वर्ष न्याय सेवामा बिताएका थिए । २०७४ फागुनमा श्रीमतीको निधनपछि एकल जीवन बिताइरहेका उपाध्यायले आफ्नो इच्छाअनुसार सन्न्यासी बनेको छोरा कुमार उपाध्यायले बताए । “यो उनको व्यक्तिगत स्वतन्त्रता हो,” छोरा कुमारले भने ।
उपाध्यायसँगै अक्षय तृतीयाका दिन देवघाटमा आठ जनाले सन्न्यास दीक्षा लिए । वास्तविक नाम ६५ वर्षीय केशरीप्रसाद ढकाल रहेका धादिङको बेसरी गाउँपालिकाका स्वामी केशवानन्द गिरी पाँच वर्षअघि सन्न्यासी बनेका हुन् । अहिले उनी देवघाटकै गलेश्वर आश्रममा सञ्चालित सदावर्त अन्न भण्डारमा भण्डारेका रूपमा स्वयंसेवक भई काम गरिरहेका छन् ।
पाँच छोरी एक छोरा भए पनि जीवनको उत्तरार्द्ध देवघाटमै बिताउने इच्छाले सन्न्यास ग्रहण गरेको केशवानन्द बताउछन् । भन्न नचाहँदानचाहँदै पनि उनले आफ्नो विगत यसरी सम्झिए, “म काठको काम गर्ने मिस्त्री हुँ । काम गर्न सकुन्जेल परिवारमा राम्रै थियो । जब म घरमै लडेर थला परेँ, छोराबुहारीले पनि हेला गर्न थाले । बचन सहन नसकेपछि बूढाबूढी खोलामा हेलिन भनेर घरबाट निस्किएको संयोगले देवघाट आएछौँ ।”
यहीँ बस्दाबस्दै सन्न्यास ग्रहण गर्ने इच्छा जागेको उनले बताए । केशरीप्रसादकी श्रीमती चन्द्रकुमारी ढकालले पनि श्रीमान्सँगै एकैदिन सन्न्यास लिएकी हुन् । सन्न्यास दीक्षा लिएपछि चन्दे्रशानन्द भएकी चन्द्रकुमारी र उनका श्रीमान्को अहिले देवघाटमा बस्ने कुटी फरक छन् । तर कहिलेकाहीँ श्रीमती आएर आफ्नो हेरविचार र सरसफाइ भने गरिरहने केशवानन्द बताउछन् ।
पछिल्लो समय न्यायाधीश, डाक्टर, निजामती कर्मचारी, शिक्षक, बैङ्कर्सहरूमा सन्न्यास ग्रहणको आकर्षण बढेको पाइन्छ । अहिले पनि देवघाटमा सयभन्दा बढी सन्न्यासी छन् । यद्यपि देवघाटमै रहेका ठूला आश्रमले विगत डेढ दशकयता तीन सयभन्दा बढीलाई सन्न्यास दीक्षा दिइसकेका तथ्याङ्क यहाँका आश्रमसँग छ । देवघाटका ठूला आश्रमहरू गलेश्वर, हरिहर र महेश सन्न्यास आश्रमले विशेषगरी शिवरात्रि, अक्षय तृतीया र श्रीपञ्चमीको अवसर पारेर सन्न्यास दीक्षा दिने गर्छन् ।
डेढ सयभन्दा बढीलाई सन्न्यास दीक्षा दिइसकेका गलेश्वर आश्रमका पीठाधीश स्वामी महामण्डलेश्वर आत्मानन्द गिरी शङ्कराचार्य पद्धतिबाटै वैदिक विधिअनुसार सन्न्यास दीक्षा दिइने बताउछन् । “धार्मिक परम्पराअनुसार आफ्नो किरिया आफैँ गरेर सन्न्यास दीक्षा लिने हो,” उनले भने “सन्न्यास लिनेले पहिला पितृका लागि श्राद्ध गर्छन् । अनि देवीदेवताको पूजा गर्छन् । अन्त्यमा विधिपूर्वक ‘विरज होमन’ गर्दै आफ्नै आत्मश्राद्ध गरेर सन्न्यास दीक्षा लिने गर्छन् ।”
‘विरज होमन’ भनेको मान्छेमा हुने लोभ, क्रोध, लोभ, मोह आदि त्याग गर्ने प्रतिबद्धता जनाउने विधि भएको बताइन्छ । “सन्न्यास ग्रहण गर्नु आत्माशुद्धिको बाटो अपनाउनु हो । तर यसलाई पालना गरिराख्नु गाह्रो विषय हो,” उनले भने, “लोभ, मोह, क्रोध आदि त्याग गरेर ईश्वरीय शक्ति जिउन गाह्रो विषय हो ।” उसो त कतिपय मानिस सन्न्यास ग्रहण गरेर पनि पुनः घरमै फर्किएका उदाहरण पनि छन् ।
मान्छेमा वैराग्य जागेपछि सन्न्यास जीवन जिउने निर्णय गर्छ । त्यो बेला परिवार वा समाजले के भन्छ भनेर सन्न्यास ग्रहण गर्न रोकिँदैन । कुनै न कुनै रूपमा विरक्तिएका वा परिवारबाट एक्लिएका मानिस उत्तराद्र्धमा सन्न्यास ग्रहण गरेको धेरै भेटिने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए । गाेरखापत्र दैनिकबाट