पूर्ण उत्पादन क्षमताका उद्योग ४० प्रतिशतमात्रै

रिपोर्ट नेपाल | 2022 Jul 09 | 07:46 am 1165

काठमाडौं, असार २५ः हाल सञ्चालनमा रहेका चारवटा औद्योगिक क्षेत्रमध्ये ३९.९ प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक गणना २०७६’ अनुसार सो अवधिमा औद्योगिक क्षेत्रका चारै औद्योगिक प्रतिष्ठानमध्ये ३९.९४ ले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । अझै ६०.१ प्रतिशत उद्योग विविध कारण समस्याग्रस्त अवस्थामा छन् ।

यसैगरी, यस अवधिमा १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३४ उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम उपयोग गरेको सो अध्ययनले देखाएको छ ।

यसरी पूर्णक्षमतामा नचल्नुको कारण बजार वा मागको कमीका कारण (४६ प्रतिशत), कच्चा पदार्थको अपर्याप्तताका कारण (१० प्रतिशत), स्रोतको कमीका कारण (८ प्रतिशत), सीपमूलक कामदारको अभावका कारण (८ प्रतिशत)लगायत मुख्य कारण रहेको सो तथ्यांकले देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा समावेश गरिएको तथ्यांक २०७५ साल १ साउनदेखि २०७६ असार मसान्तसम्मको रहेको छ । यस अवधिमा राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको लागत÷उत्पादन अनुपात ०.७५ रहेकोमा हालको सर्वेक्षणअनुसार सो अनुपात केही घटेर ०.७३ रहेको देखिएको छ ।

राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले करिब २ खर्ब ४१ अर्ब ७७ करोड मूल्यबराबरको रकम लगानी गरेर करिब ३ खर्ब २२ अर्ब ५५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए । यस सर्वेक्षणमा सोही समूहका प्रतिष्ठानले करिब ६ खर्ब २५ अर्ब ७२ करोडबराबरको रकम लगानीका रूपमा खर्च गरी करिब ८ खर्ब ६१ अर्व ५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेको देखिएको छ ।

सो आधारमा २०६९ सालमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब ८० अर्ब ७८ करोडबराबरको मूल्य अभिवृद्धि गरेका थिए । यस सर्वेक्षणबाट ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब २ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँबराबरको मूल्य अभिवृद्धि गरेको सो अध्ययनले देखाएको छ ।

सो तथ्यांकअनुसार नेपालमा कुल ६० हजार १ सय ८५ वटा उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । यस्ता उद्योग प्रतिष्ठानमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । जसमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादनमा ९ सय ९४ वटा, पानी आपूर्ति, ढल निकास र फोहोरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठान सञ्चालनमा छन् ।

यस्ता उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या ४ लाख ९१ हजार २ सय २७ रहेको छ । जसमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा धेरै ४ लाख ४४ हजार ९ सय ६४ जना आबद्ध छन् ।

यस्ता उद्योगबाट रोजगार पाएका व्यक्तिको संख्या ३ लाख ८१ हजार ६ सय ८७ रहेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷७६ को सर्वेक्षणमा आधारित विवरणअनुसार सो अवधिसम्ममा सञ्चालित उद्योगको कुल सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँबराबर रहेको देखिएको छ ।

यो नयाँ तथ्यांकअनुसार ७६ प्रतिशत उद्योग प्रतिष्ठान वर्षमा २ सय ७० दिन सञ्चालन हुने गरेको देखिएको छ । यसैगरी, १९ प्रतिशत उद्योग प्रतिष्ठान १ सय ८० देखि २ सय ६९ दिन, ४ प्रतिशत उद्योग ९० देखि १ सय ७९ दिन र बाँकी १ प्रतिशत उद्योग वार्षिक ९० भन्दा कम दिन मात्रै सञ्चालनमा रहेको देखिएको छ ।

यो सर्वेक्षणमा नेपालको अर्थतन्त्रलाई विभिन्न १७ वटा क्षेत्रमा बाँडेर औद्योगिक गणना गरिएको विभागले जनाएको छ । यो सर्वेक्षणका लागि १३ हजार १ सय ३९ वटा उद्योग प्रतिष्ठानलाई सहभागी गराइएको विभागले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.