छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 06 | 02:29 pm 1505

कैलाली, असार २२ः धनगढी उपमहानगरपालिका-९ गौरिकटानबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रेमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित गोदावरी नगरपालिका-१२ बस्ने २९ वर्षीय धर्म बडौलालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.७ प ६२३७ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार बडौलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित मोरङ पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय मिलन दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-२८ बगहीबाट करिब ९० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३० वर्षीय रबिकान्त भारती र २८ वर्षीय सुनिल भारती रहेका छन् । यूपी ७० बीके ९९५५ नम्बरको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पर्वत, कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस-९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस-२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको  थियो । सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल-भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.