गुल्मी, असार १९ः गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट मदाने गाउँपालिकाको अध्यक्षमा निर्वाचित महेन्द्रबहादुर कुँवरले आफूले पाउने सेवा वापतको रकम पार्टीलाई दिने भएका छन् ।
नेपाली कांग्रेस मदाने गाउँपालिकाको अध्यक्ष समेत रहेका कुँवरले आफ्नो पारिश्रमिक पार्टीलाई दिने घोषणा गरेर प्रशंसनीय कार्य गरेको क्षेत्रीय सभापति चन्द्रबहादुर महतले रिपोर्ट नेपाललाई बताए ।
कुँवरको पारिश्रमिकबाट प्राप्त रकम नेपाली कांग्रेस मदानेको बैंक खातामा जम्मा गर्ने र खाता संचालन अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षरमा संचालन गरिने जनाइएको छ ।
स्मरण रहोस् कुँवरले निर्वाचन लड्दा नै आफूले सेवा सुविधा पार्टीलाई दिने घोषणा गरेका थिए । कुँवरको यो कार्यले पार्टीलाई लेवी नबुझाउने जनप्रतिनिधि नैतिक संकटमा परेका छन् ।