बढ्दै छ विदेशी हवाई कम्पनीको चासो

| 2022 Jul 01 | 07:38 am 1741

काठमाडौँ, असार १७ः कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् । पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप दुई विदेशी हवाई कम्पनीले नियमित उडान भर्ने तयारी गरेका छन् । थाई स्माइलले असार १७ गतेदेखि हप्ताका सातै दिन बैङ्कक–काठमाडौँ–बैङ्कक उडान गर्ने तयारी गरेको छ । श्रीलङ्कन एयरलाइन्सले पनि असार २२ गतदेखि कोलम्बो–काठमाडौँ–कोलोम्बो नियमित उडान गर्न अनुमति पाएको छ ।

गत जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न विदेशी हवाई कम्पनीले चासो बढाउँदै लगेका छन् । गौतम बुद्ध विमानस्थलमा चाँडै थप तीन विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हङ्गेरीको बिज एयर, भारतको गो एयर, इन्डोनेसियाको गरुडा एयर तथा यूएईका एयर अरेबिया र फ्लाई दुबईको भैरहवामा नियमित व्यावसायिक उडानका लागि अनुमतिको प्रक्रिया अगाडि बढेको छ । गरुडा र बिज एयरले सेप्टेम्बरदेखि उडान थाल्ने तयारी गरेका छन् ।

पछिल्लो समय गौतम बुद्ध विमानस्थलमा उडान गर्नका लागि कतार एयरवेज, म्यानमार एयरवेजलगायतका विदेशी विमान सेवा कम्पनीले समेत चासो देखाइरहेका छन् तर यी कम्पनी प्रक्रियामा आइसकेका छैनन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल कुवेतको जजिरा एयरले कुवेत–भैरहवा–कुवेत साताको तीन उडान गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गौतम बुद्ध विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेकाले विदेशी वायुसेवा कम्पनीले पनि सोझै उक्त विमानस्थलमा उडान भर्न चासो देखाउन थालेका छन् ।

उनले भने, “नेपाल उडान भर्ने विदेशी वायुसेवाको सङ्ख्या बढेसँगै देशको पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा टेवा पुग्ने देखिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनमा रहेको छ ।  यसले नेपालमा उडान भर्न चाहने हवाई कम्पनीले पनि भनेकै समयमा उडानको अवसर रहेकाले नेपालमा उडान भर्न विदेशी हवाई कम्पनी थप इच्छुक देखिन थालेका छन् ।”

महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले काठमाडौँमा उडान भर्दै आएका थिए । हाल नेपालसहित १९ देशका २४ एयरलाइन्सले दैनिक सरदर दुईतर्फी ६० भन्दा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.