नि:शुल्क औषधिमात्रै सधैं अभाव किन ?

रिपोर्ट नेपाल | 2018 Aug 02 | 08:29 am 2021

सुर्खेत, साउन १७: कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा सधैं निशुल्क औषधि अभाव हुने गरेको छ। स्वास्थ्यकर्मीसमेत नियमित बस्दैनन्। स्थानीय बासिन्दा सदरमुकाम र नजिकका मेडिकलमा उपचार गराउन बाध्य छन्। जिल्ला अस्पतालमा पनि नि:शुल्क औषधि पाइँदैन।

पेट दुखेपछि कालिकोट, पलाता–६ खिननेटाको स्वास्थ्यचौकी पुगेकी २५ वर्षीया तारा धामीलाई अहेब भीमबहादुर शाहीले औषधि सकिएको भन्दै ३ ट्याब्लेट इसिलक्स दिए। उनको सल्लाह थियो, ‘मेडिकलमा पाइन्छ भने किनेर खानुहोला, यता सकिएको छ।’ तीन सन्तानकी आमा ताराको घरायसी अवस्था नाजुक छ। निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउन सक्ने सामथ्र्य छैन।

स्थानीय तहले स्वास्थ्य संस्था जिम्मा लिएपछि विगतको तुलनामा औषधि आउने गरे पनि पर्याप्त नहुने स्वास्थ्यकर्मी बताउँछन्। नि:शुल्क दिनुपर्ने ३५ प्रकारका औषधिको माग फाराम भरेर कार्यालय सहयोगीलाई पठाइएकोमा ९ प्रकारको मात्र आएको स्वास्थ्यचौकी इन्चार्ज धनबहादुर खत्रीले बताए। ‘औषधि त पुर्‍याउनै कठिन छ,’ उनले भने।

धौलागोह स्वास्थ्यचौकीमा ४० प्रकारका नि:शुल्क औषधिमध्ये २५ प्रकारका मात्र रहेको स्वास्थ्यकर्मी कालुराम थारूले बताए। दुखाइ कम गर्ने बु्रफेन, बमिटिङ रोक्ने प्रमिठाजिन, घाउमा लगाउने मलमलगायत नभएको उनले जनाए। स्वास्थ्यचौकीमा ४०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र जिल्ला अस्पतालमा ७० प्रकारका औषधि नि:शुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ। कुनै पनि स्वास्थ्य संस्थाले नि:शुल्क उपलब्ध गराउनुपर्ने औषधिको सूची सार्वजनिक नगरेको नागरिक समाजका अगुवा लीलाराम न्यौपानेले बताए। ‘सरकारले दिने भनेको कुन–कुन औषधि हो, नागरिकलाई थाहै छैन,’ उनले भने, ‘औषधिका नाम नेपालीमा लेखेर फ्लेक्स पिन्टमा राख्न सके धेरैलाई राहत हुने थियो।’

त्यहाँ भएका स्वास्थ्यकर्मीहरुले निशुल्क आएको औषधी प्राइभेट क्लिनिकमा लगेर विक्रि गर्ने र कृतिम अभाव सिर्जना गर्ने गरेको समेत आरोप लाग्न थालेको छ। यातायात सेवाको अभावका कारण पनि समयमा औषधी पुग्न नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी पनि छैनन्। केही स्थानीय तहले स्वास्थ्यकर्मीको नाममा करार सेवामा आफन्तलाई जागिर दिएका छन् । नरहरिनाथस्थित कुमालगाउँ प्राथमिक उपचार केन्द्र स्वीकृत भएको १४ वर्ष भयो। एक मेडिकल अधिकृतसहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर स्वास्थ्यकर्मी पुगेका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.