बिरामी बोकेको बलेरो इलाममा दुर्घटना हुँदा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jun 26 | 08:46 pm 2009

पाँचथर, असार १२: पाँचथरबाट बिरामी बोकेर झापातर्फ जाँदै गरेको बलेरो इलाममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट बिरामी लिएर झापाको दमक जाँदै गरेको बलेरो इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा दुर्घटना हुँदा पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका–२ का ५० वर्षीय प्रकाश राई छन्। घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

रबिबाट दमकतर्फ जाँदै गरेको मे१ज ४८७ नंको बलेरो आज दिउँसो करिब १२ बजे सडकबाट करिब २०० मिटर तल झरी दुर्घटना भएको हो। बलेरो चालक भने फरार रहेकाले खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.