हैजा नियन्त्रणका लागि ललितपुरमा पानीपुरी बिक्रीमा रोक

| 2022 Jun 26 | 02:25 pm 1517

ललितपुर,  असार १२ः ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए । उनले भने, “अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ ।”

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए ।

महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.