राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौ‌मा प्रथम समादेशक कार्यशाला गोष्ठीको आयोजना

| 2022 Jun 21 | 10:03 pm 2133

काठमाडौं, असार ७ः राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंगलबार दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’को आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा संचालन हुने विभिन्न तालिम, संगठनको नीति तथा कार्यादेश अनुसार राज्यबाट सुम्पिएको जिम्मेवारी पूरा गर्न जनशक्ति व्यवस्थापन, प्रभावकारी परिचालन, नविनतम् सुरक्षा चुनौतीको सामना गर्न आवश्यक पर्ने तालिम, तालिमको पाठ्यक्रम, तालिमको लागि आवश्यक पर्ने पूर्वाधार, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको व्यवस्थापन तथा स्तरोन्नती, मुल्यांकन तथा प्रशिक्षण विधिहरु समयानुकुल परिमार्जन गर्न गहन छलफल गरिने समेत बताए ।

लागूऔषधसहित पक्राउ
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट मंगलबार  सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ बस्ने २५ बर्षिय अनुग्रह श्रेष्ठ रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालर्फ आउँदै गरेका निज श्रेष्ठलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम ९ वटा, एभिल २४ वटा, लुपिजेसिक ६ वटा र फेनेरागन ३ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ४ बाट सोही जिल्लाको सखुवानानकट्टी गाउँपालिका १ बस्ने २८ बर्षिय शिवकुमार मण्डललाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले जाँच गर्दा निजको साथमा प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४२ वटा, डाईजेपाम ३७ वटा र डुप्रेनोर्फिन ३९ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ठाँडीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.