काठमाडौं, साउन १६ : प्रधानन्यायाशीश नियुक्तिबारे टुंगो लगाउन बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठक पनि निर्णय विहिन सकिएको छ । सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमति नजुट्दा बैठक शुक्रबार बिहान १० बजेसम्मका लागि स्थगित भएको हो ।
अर्को बैठक शुक्रबारलाई बोलाइएको समिति सदस्य योगेश भट्टराईले जानकारी दिएका छन्। सहमतिमै निर्णयमा पुग्नका लागि समय माग भएकाले बैठक स्थगित गरिएको उनले बताए। अर्को बैठकबाट भने निर्णयमा पुग्ने उनले विश्वास व्यक्त गरे।
समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन ।
बुधबार दिउँसो ३ ३० बजे बोलाइएको सुनुवाई समितिको बैठक एक घण्टापछि मात्रै शुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको हो ।