सरकारले जनतालाई राहत होइन आहत दियो

रिपोर्ट नेपाल | 2022 Jun 21 | 05:32 pm 3081

  • महेन्द्र पाण्डेय

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले नेपालका ठूला राजनीतिक दल र तिनका नेतालाई सांकेतिक रुपमा गोर्खे लौरी लगाए पनि उनीहरुको चेत अझै खुलेको छैन । २०६२।०६३ को जनआन्दोलन पछि परिवर्तनका नारा जति घन्किएका छन् त्यसको प्रत्यक्ष फाइदा गरिब निमुखा जनताले नलिएर दलका नेता र तिनका आसेपासे सन्तान दरसन्तानले लिएका छन् ।

पछिल्लो समय गरिब निमुखा जनताले लोकतन्त्रको उपहार महंगी र भ्रष्टाचार भन्ने सोच्न थालिसकेका छन् । हिजो चप्पल पड्काएर हिड्नेहरु आज महलका मालिक र चिल्ला गाडीमा सवार गर्ने भएका छन् । त्यति मात्र नभएर दुई छाक दाल रोटी खान धौ धौ पर्नेहरु आज तारे होटलका परिकार खाने भएका छन् । जनताको मतबाट देश हाँक्न गएकाहरु जनताको भन्दा घरको चिन्तामा बढी केन्द्रीत छन् ।

कांग्रेसबाट नेतृत्व गर्नेहरु त झन विपक्षीमा बस्दा वीपीका सपनाका कुरा गर्ने सत्तामा गएपछि (विवी) श्रीमतीका सपना साकार पार्नमा व्यस्त भएको आरोप स्वयं कांग्रेसका कार्यकर्ताहरु लगाउँछन् । मुल्य बृद्धीले जनता आकुल व्याकुल भएका छन् । दैनिक उपभोग्य वस्तुमा लगभग सतप्रतिशत भएको मुल्य बृद्धीले गरिब असहाय भोक भोकै बस्नुपर्ने स्थिति पैदा भएको छ । जनतालाई उठ्नै नसक्ने र ढाँड सेक्ने गरी पेट्रोलियम पदार्थमा मुल्य बृद्धी गरिएको छ । मट्टीतेल, डिजेलको मुल्य एकै पटक २७ रुपैयाँले बढाएर १ सय ९२ रुपैयाँ पुर्याइएको छ । पेट्रोलको मुल्य प्रतिलिटर २१ बढाएर १ सय ९९ पुर्याइएको छ । यो पछिल्लो १ महिनाको अविधिमा ५९ रुपैयाँले मुल्य बढाइएको छ । खाना पकाउने ग्याँसको मुल्य पनि ह्वात्तै ३ सय बढाइएको छ । यो सबै कुरालाई हेर्दा सरकार जनतालाई राहत होइन आहात दिइरहेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धी एशियामा २८ औं र विश्वमा ८२औं स्थानमा छ । नेपालमा गरिएको मुल्य बृद्धीलाई हेर्दा दक्षिण एशियामा नेपाल महंगो बिक्रि गर्नेमा परेको छ । आम जनताको अपेक्षाविपरित सरकारले २०६२।०६३ को जनआन्दोलन पछि प्राप्त गणतन्त्र अघि ५१ रुपैयाँमा पाइने पेट्रोल अहिले १ सय ९९ बनाएर जनताको ढाँड सेक्ने काम भएकोे छ । भ्रष्टाचार नियन्त्रणमा सरकार पूरै असफल सावित भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यबृद्धी गरे सँगै सार्वजनिक यातायात र हवाई भाडा समेत बढेको छ । भान्छामा नभई नहुने खाने तेलको मुल्य बृद्धीले जनता टाउको समाउने भएका छन् । खाद्य सामाग्री दिन दुई गुणा रात चार गुणाले बढीरहेको छ । कालोबजारीले डाँडा काट्न थालिसकेको छ तर नियमन गर्ने निकाय चिर निद्रामा छ । सरकारी कार्यालयमा घुस बिना फाइल ओल्लो टेबुलबाट पल्लो टेबुलमा सर्दैन तर सरकार निरीह र रमिते छ ।

नेपाल प्रहरीमा रिक्त डिआइजीको सरुवामा भई रहेको ढिलाईले पनि सरकार कुन रफ्तारमा छ त्यो प्रष्ट भएको छ । सरुवा बढुवामा दलालहरु मुल्य तोक्दै हिडेका छन् तर पनि सरकार बहिरो र अन्धो छ ।

पंचायतका कालरात्री दिनमा आफ्नो युवत्वलाई समेत विर्सिएर देश र जनताका लागि संघर्ष गरेका नेताहरु यो बुढौली उमेरमा जनता प्रति भन्दा घर परिवार सन्तान दरसन्तान प्रति बढी चिन्तित भएका कारण काला बजारीया र तस्करको विगविगीले महंगीले आकाश छोएको हो । बिद्वान भागवत खनालले एउटा लेखमा हाम्रो बयोबृद्ध नेता आफ्नो जल्दोबल्दो युवावस्थामा जनअधिकारका लागि लड्न घरबार छाडेर हिडेका थिए । परन्तु सत्तामा पुगेपछि त्यो त्याग आशक्तिमा परिणत भयो । युवावस्थामा घरबार त्याग्नेले बुढेसकालमा आएर दरबारका लागि लोकतान्त्रिक संस्कृति त्यागे भनेर लेखेका छन् । त्यो लेखलाई यो पंतिकारले दोहोर्याएर पढ्यो र त्यो कुरामा सहमत राख्यो । सरकारको हेलचेक्राई र अदूरदर्शिले तमाम हुँदा खाने वर्ग तड्पिन परेको छ भने हुने खानेले मुख मिठाएर बसेका छन् । सर्व साधारण जनतालाई शान्ति चाहिए पनि हतियारको खेती गर्नेलाई युद्धको चाहाना भए जस्तै हुनेखानेले देश चलाएका छन् । उनीहरुलाई यो महंगीको के मतलव ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.