नक्कली नोट छाप्ने गरेको आरोपमा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 16 | 10:15 am 1029

कैलाली, असार २ः नक्कली नोट छाप्ने गरेको आरोपमा कैलाली प्रहरीले एक जना फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका–८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास रानालाई फोटो स्टुडियोमा नक्कली नोट छाप्ने गरेको आरोपमा पक्राउ गरेको हो । यसैगरी, हजारको एक थान नक्कली नोटसहित सोही ठाउँका १८ वर्षीय अनुराग रानालाई पनि पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अनुरागले धनगढीको मायामेट्रो अस्पतालमा एक हजारको नक्कली नोट दिंदा जाली नोट छाप्ने गरेको तथ्य पत्ता लागेको हो । बुधबार साँझ अनुरागले चलाएको लु८५ प५१८४ नम्बरको मोटरसाइकलले धनगढी उपमहानगरपालिका–५ हसनपुरका १६ वर्षीय टेकबहादुर छेडाललाई ठक्कर दिएपछि दुवै जना घाइते भएका थिए ।

दुवैको मायामेट्रो अस्पतालमा उपचारपश्चात डिस्चार्ज हुने बेला अनुरागले उपचार शुल्क भुक्तानी गर्दा एक हजारको एक नोट नक्कली भेटिएको थियो । लगत्तै वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुरागलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनको मामा नाता पर्ने फोटो स्टुडियोका सञ्चालक रामदास रानाले पैसा छाप्ने गरेको खुलेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार बुधबार साँझ नै फोटो स्टुडियोमा पुगेको प्रहरीले विभिन्न उपकरणसहित रामदासलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले रानाको स्टुडियोबाट रङ्गिन मसीका डिब्बा पाँच थान, रङ्गिन प्रिन्टर, मनिटर, सीपीयु, लेमिनेशन मेसिन, कीबोर्ड एक÷एक थान बरामद गरेको छ । यस्तै, कैची एक थान, ब्लेड दुई थान, नक्कली हजारको नोट दुई थान, बिग्रेको नक्कली हजारको नोट एक थान र बिग्रेका नक्कली १०० को नोट दुई थान बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.