एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै

रिपोर्ट नेपाल | 2022 Jun 16 | 08:06 am 1681

चितवन, असार २ः नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।

तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ–काठमाडौँ माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा हिउँद वर्षा जतिबेला पनि जोखिम रहेको बताए । उनले आँखा अगाडि सवारीसाधन पुरिएको स्मरण गरे ।

उनको भनाइलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन विष्टले उक्त सडकमा दुई वर्षमा चारवटा सवारीसाधन पहिरोले पुरिएको जानकारी दिए। “पहिरोले जाम मात्रै हैन सतर्कता नअपनाउँदा सवारीसाधन नै पुरिने जोखिम बढ्दो छ”, उनले भने ।

उक्त सडक खण्डमा दैनिक १० हजारको हाराहारीका सवारीसाधन र त्यसमा यात्रा गर्ने लाखौँ यात्रु यात्रा गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सहायक हवल्दार घनश्याम चौधरीका अनुसार गत साउनदेखि अहिलेसम्म उक्त सडकमा २० पटक पहिरो झर्दा १०१ घण्टा सडक अवरुद्ध भएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.