हुुम्ला, जेठ ३०ः नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि संभाव्यता अध्ययन सुरु भएको छ । यसका लागि काठमाडौंबाट आएका टोलीले स्थलगत रुपमा यारी पुगेर अध्ययन सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनसँगको सिमा क्षेत्र यारीमा सुुख्खा बन्दरगाहको संभाव्यता अध्ययन सुरु भएको बताइन् । चालु आर्थिक वर्षमा सरकारले उक्त संभाव्यता अध्ययनको कार्यक्रम तय गरेको थियो । यसका लागि केही समय अगाडी उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयले सार्वजनिक सुचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनौट गरि सम्झौता गरेको थियो । लिमिटेडसँगको सम्झौतासँगै दुई सदस्यीय टोली हुम्ला पुगेर स्थलगत रुपमा अध्ययन सुरु गरेको प्रजिअ परियारले बताइन् ।
टोलीमा खटिएका इन्जिनीयर सन्तोस खड्काले टोली यारी पुगेर स्थलगत रुपमा अध्ययन सुरु गरेको बताए । उनले बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन हुने बताए । त्यसैगरी जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुली, सडक सञ्जाल र सामाजिक बिवरणको समेत अध्ययन गरिने बताए । त्यसैगरि यारी क्षेत्र चार हजार ४०० मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अबस्थाको पनि अध्ययन गरिनेछ । उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको छ । सरकारी जमिन पनि प्रसस्त मात्रामा रहेको छ । उनले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले यस बन्दरगाहबाट फाईदा लिन सक्ने बताउदै उक्त बन्दरगाह ब्यापारिक तथा रणनैतिक महत्वको हुने बताए ।
टोली चीनसँगको सिमा क्षेत्र हिल्सामा पनि पुग्नेछ । नौ दिन स्थलगत अध्ययनपछि टोली यारीबाट फिर्ता हुनेछ । उनले फिल्ड अध्ययनपछि तयार हुने प्रतिबेदन असार महिनाभित्र मन्त्रालयलाई पेश गर्ने बताए । उक्त बन्दरगाहको अध्ययनपछि डिपिआर तयारीको बाटो खुल्नेछ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुुर शाहीले नौ वर्ष अगाडी यारी बन्दरगाहको माग सरकारसँग राखेका थिए । बन्दरगाह भने कर्णाली प्रदेशमै पहिलो र ब्यापारिक महत्व झल्किने छ । हुम्लामा उत्पादन जडिबुटी, फलफुल, तरकारी, काठ सहज रुपमा निकासी गर्ने बाटो खुल्नेछ । गाेरखापत्र दैनिकबाट