संयुक्त राज्य अमेरिका, USARPAC का कमाण्डरद्वारा BPOTC, पाँचखाल र ACSC, शिवपुरीमा भ्रमण

रिपोर्ट नेपाल | 2022 Jun 12 | 07:17 pm 4241

काठमाडाैं, जेठ २९ः मिति २०७९ जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका मित्रराष्ट्र संयुक्त राज्य अमेरिका, United States Army Pacific Command (USARPAC) का कमाण्डर General Charles A. Flynn सहितको भ्रमणदलका सदस्यहरुले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र (BPOTC) र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज (ACSC) को भ्रमण गरेका छन् ।

पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमणका दौरान, श्री शान्ति कार्य निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्यसहित शूभारम्भ गरिएको उक्त कार्यक्रममा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थिति लगायत विविध पक्षको बारेमा जानकारी गराएका थिए । उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरेका थिए ।

साथै, अन्तरक्रियाका दौरान नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र उक्त भ्रमणदलका सदस्यहरुबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति
स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विविध विषयमा छलफल भएको थियो ।

तत्पश्चात, उक्त भ्रमणदलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको थियो । उक्त भ्रमणको दौरान, General Flynn द्वारा सो कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गर्नुका साथै वहाँले कलेज परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा, General Flynn ले नेपाली सेना एउटा भरपर्दो जमिनी शक्ति (Reliable Land Power) भएको र संसारकै पूरानो सेनाहरु मध्ये एक रहेको समेत बताएका थिए ।

नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी उक्त भ्रमणदल आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीबाट भएको यस भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ बनाई आपसी सद्‍भाव बढाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.