सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 11 | 08:04 am 1909

रौतहट, जेठ २८ः जिल्लाको ईसनाथ नगरपालिका ४ मौहुलियास्थित एक घरबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर
बताउने ४० वर्षीय कृष्ण साह रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मौहुलियाबाट खटिएको टोलीले
उक्त पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागूओषधसहित पक्राउ
पर्सा जिल्लाको ठोरी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १५ वटा नाईट्रोभेट ट्याब्लेसहित सोही गाउँपालिका ३ बस्ने २१ वर्षीय विशाल नेपालीलाई पक्राउ गरेको छ । मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध तथा १ थान मोवाईल
सेट बरामद गरेको हो । पक्राउ परेका नेपालीलाई बरामद लागूऔषध, मोटरसाईकल र मोवाईलसहित आवश्यक
कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

सितापाईला सडक ईलाकामा रहेको गाँजा फडानी
सितापाईलादेखि अन्नपूर्ण चोकसम्म सडकको दायाँ वायाँ किनारामा रहेका गाँजाका बोटहरु फडानी गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडौंबाट सशस्त्र प्रहरी नायव निरीक्षक शंकर बोगटीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी सो कार्यमा जुटेको हो ।

समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बिट स्वयम्भू, काठमाडौं महानगरपालिका वडा नम्बर १५ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूबाट खटिएको टोलीले शुक्रबार सडकको किनारामा रहेका गाँजा फडानी गरेको हो ।

चोरीपैठारीको सामानसहित एक जना पक्राउ
रौतहट जिल्लाको गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट सशस्त्र प्रहरीले करीव १ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३४ वर्षीय शम्भु राय यादव छन् ।

भारतबाट अवैध रुपले ज १ त ८७८६ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको ४ हजार ४ सय ५० के.जी. प्याजसहित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उक्त ट्याक्टर समेत
बरामद गरिएको छ ।  पक्राउ परेका यादवलाई बरामद प्याज तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.