दुई महिनापछि हवाई सेवा सहज

रिपोर्ट नेपाल | 2022 Jun 08 | 09:18 am 1653

हुम्ला, जेठ २५ः सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई महिनापछि हवाई सेवा सहज भएको छ । हुम्लाका लागि उडान भर्दै आएका निजी एयरलाइन्सहरू कर्णालीका हिमाली जिल्लामा उडान भर्नका लागि नेपालगञ्ज फर्किएपछि हवाई सेवा सहज भएको हो ।

सोमबार नेपालगञ्ज जाने तयारीमा रहनुभएका यात्रु विनोद भण्डारीले आफू तीन दिनपछि बल्ल गन्तव्यमा जान पाइएको बताए । यात्रु बोर्डिङ पास देखाउँदै उनले हुम्लाका लागि उडान भर्ने सबै जहाज नेपालगञ्ज बेस गर्नेगरी फिर्ता भएपछि हवाई सेवा सहज भएको बताए । समिट एयर हुम्लाका प्रमुख गोविन्द लामाले काठमाडौँबाट फर्किएको सो एयरलाइन्सका दुईवटा जहाजले हुम्लालगायत कर्णालीका हिमाली जिल्लामा उडान भर्न सुरु गरेको बताए ।

यसअघि उक्त जहाज काठमाडौँ केन्द्रित हुँदा महिनामा तीनदेखि चारवटा मात्र उडान भर्ने गरेको थियो । उनले जहाज नेपालगञ्ज आएलगत्तै दुई उडान सिमकोटका लागि भरेको बताए ।

नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीका अनुसार सोमबार मात्र सीता, तारा, समिट र नेपाल एयरलाइन्सले सातवटा उडान भरेका छन् ।

हवाई यातायात सहज भएसँगै सिमकोट विमानस्थलबाट भारी बोक्ने कार्य पुनः सुरु भएको छ । नेपालगञ्ज विमानस्थलले हुम्ला मात्र नभई कर्णालीका जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिमको बाजुरा जिल्लाका लागि पनि हवाई सेवा सहज भएको बताए । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.