भारतको उर्जा बजारमा दैनिक ५ करोड रुपियाँ सम्मको विद्युत बेच्दै प्राधिकरण

रिपोर्ट नेपाल | 2022 Jun 07 | 08:16 am 1665

काठमाडौं, जेठ २४ः नेपालले सोमबार भारतीय उर्जा बजार (आइइएक्स) मा औसत १२ रुपियाँ ९१ पैसामा ४२ लाख २७ हजार १ सय युनिट विद्युत बेचेको छ । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) को पदाधिकारीहरूसँगको छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।

उनले भारतीय उर्जा बजारमा २४ घण्टालाई १५–१५ मिनेटको १६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार हुने भएकोले एकै दिनमा पनि फरक फरक ब्लकको मूल्य फरक हुने जानकारी दिंदै भने–‘सोमबारका लागि आईईएक्समो न्युनतम मूल्य प्रतियुनिट भारु ८.०४ अर्थात १२ रुपियाँ ८५ पैसा र अधिकतम भारु १२ अर्थात करिब २० रुपियाँ तय भएको छ ।

आज हामीले भारतमा बेचेको विद्युतको औसत मूल्य १२ रुपियाँ ९१ पैसा पाएका छौं ।’ उनले नेपालमा आन्तरिक खपतबाट बढी भएको विद्युत भारतको उर्जा बजारमा बेचेर दैनिक ५ करोड रुपियाँसम्म कमाउन सक्ने बताए । सीन पदाधिकारीहरूसँगको छलफलमा उनले विद्युत व्यापार विदेशी मुद्रा आर्जनको एउटा राम्रो स्रोत बन्न सक्ने बताए ।

प्राधिकरणले गत जेठ १९ गते बिहीबारदेखि भारतीय उर्जा बजारमा २९ मेगावाट बिजुली बेच्न शुरु गरेकोमा शनिबारदेखि कालीगण्डकी जलविद्युत आयोजनाबाट उत्पादन हुने १४४ मेगावाटमध्ये १४० मेगावाट विद्युत बेच्न शुरु गरेको हो । बिहीबार निर्यात गरिएको विद्युतको प्रतियुनिट अधिकतम मूल्य १२ रुपियाँ र न्युनतम मूल्य २.४९ रुपियाँ रहेको थियो । नेपालले उक्त दिन बेचेको विद्युतको औसम मूल्य १०.७६ रुपियाँ प्राप्त गरेको थियो । त्यसैगरी प्राधिकरणले शनिबार औसत ११.४८ रुपियाँमा विद्युत विक्रि गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपालले भारतको आइइएक्स बजारमा ३६४ मेगावाटसम्मको विद्युत बिक्री गर्न अनुमति पाएको हो । प्राधिकरणले मस्र्याङ्दी जलविद्युत आयोजनाको ६८, मध्य मस्र्याङ्दी जलविद्युत आयोजनाको ६७, देबीघाट जलविद्युत आयोजनाको १४.५५, त्रिशुली जलविद्युत आयोजनाको २३.२३, कालीगण्डकी जलविद्युत आयोजनाको १४० र लिखु जलविद्युत आयोजनाको ५१ मेगावाट विद्युत भारतको उर्जा बजार आइइएक्समा विक्री गर्ने जनाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.