हेलिकप्टर हस्तान्तरण कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2022 Jun 03 | 04:38 pm 1237

काठमाडाैं, जेठ २०ः नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ वैशाख २५ गतेको निर्णय अनुसार प्रदेश नं. १ स्थित श्री मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष ०७८/७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङ्गको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने नेपाली सेनाको स्वामित्वमा प्रयोगबिहिन अवस्थामा रहेको NA-039 CHEETAH HELICOPTER (SERIAL NO:- CH-059) थान-१ र सोसँग सम्बन्धित ४७ वटा पार्टपूर्जाहरु आज मिति २०७९ जेठ २० गते गौचरस्थित श्री मध्य एयर वेशमा आयोजित समारोहका बीच नेपाली सेना, सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी श्री आशिष नरसिंह राणाले प्रदेश
नं.१, श्री सामाजिक विकास मन्त्रालयका सचिव श्री दीर्घराज मैनालीलाई हस्तान्तरण गरेका थिए ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर, मित्रराष्ट्र भारतबाट मिति २०५८ मंसिर २६ गते नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भई निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि (Service Life) पुरा गरी भुमिस्थ (Grounded) रहेको थियो ।

श्री मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्रीहरु प्राप्त गरेपश्चात अध्ययनरत विद्यार्थीहरुको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । साथै, भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मरामत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्रीहरु हस्तान्तरण गरिने व्यहोरा समेत जानकारी गराईएकाे छ ।

उक्त कार्यक्रममा, श्री मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. श्री सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सह सचिव श्री यज्ञ प्रसाद ढुङ्गेल लगायत अन्य पदाधिकारीहरु, मेडिकल शिक्षा समन्वय अधिकृत र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.