मदिरा तस्करीमा बालबालिकाको प्रयोग

| 2022 Jun 01 | 07:57 am 1449

धनुषा, जेठ १८ः जिल्लाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेर समूहका बालबालिकालाई प्रयोग गर्ने गरेको खुल्न आएको छ । गत शुक्रबार साइकलमा मदिराको पोका पोकी लोड गरेर भारततर्फ गइरहेको अवस्थामा बालबालिका भेटिएपछि सो कुरा बाहिरिएको हो । भारतको विहार राज्यमा मदिरा बिक्रीवितरण र प्रयोगमा रोक लगाइएपछि त्याहाँका कतिपय मदिराप्रेमीले नेपालतर्फका सीमावर्ती जिल्लालाई नै आफ्नो गन्तव्य बनाएका छन् भने केहीले यहाँका व्यापारीसँगको ‘कनेक्सन’ मा मदिरा घरसम्म नै मगाउने गर्छन् ।

‘बोरामा हालेर साइकलमा लोड गरेपछि हामीलाई पुर्याइदेऊ भन्छन्’, इनर्वा नाका हुँदै जयनगरतर्फ गइरहेका १३ वर्षीय बालकले भने– ‘नाम र घर बताउन भनेको छैन र बताउँदिनँ पनि, बोरामा समान छ रे, सुरक्षित पु-याएपछि मात्रै पैसा दिनुहुन्छ ।’उनले दैनिक एकपटक र कहिलेकाहीँ दुई पटकसम्म पनि मदिरा जयनगरसम्म पु-याउँदै आएको बताए ।

‘मेरो दोस्त र बहिनी पनि मसँग सामान लिएर आउँछन् र अन्य १५–१७ जना पनि हाम्रै उमेरका छन्, उनीहरूको पालो भोलि हो’, उनले भने– ‘मलाई ५ सय रुपियाँ दिनुहुन्छ र दोस्त र बहिनीलाई ४–४ सय रुपियाँ दिनुहुन्छ ।’ अरूले धेरै समयदेखि काम गर्दै आए पनि आफू एक महिनादेखि सो काममा लागेको उनको भनाइ थियो । ‘अहिलेसम्म ३–४ पटक पुलिससँग भेट भएको छ र पुलिसले छिटोछिटो जाउँ भन्नुभाछ’ –उनको भनाइ थियो ।

अर्का १४ वर्षीया बालिकाले फुर्सदमा मात्रै सामानहरू ओसारपसारमा गर्ने गरेको बताइन् । ‘बाआमासँग पैसा छैन, खानैका लागि धौ–धौ हुन्छ । त्यसमाथि लुगाफाटा कहाँबाट किन्ने ?, तपाईले पैसा दिनुहुन्छ ?’, उनले भनिन्– ‘काम गरेबापत आएको थोरै पैसा बाआमालाई दिन्छु र बाँकी केही पैसाले भाइ र मलाई लुगाफाटा किन्छु ।’ कसैलाई आफ्नो नाम नबताउन आग्रह गर्दै उनले अनुरोध गरिन्– ‘अंकल मेरो नाम नबताइदिनुहोला, नभए उहाँ (व्यापारी) ले यसपछि कामै दिनुहुन्न । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.