बोटसँगै मकै बिक्री हुँन थालेपछि किसान उत्साही

रिपोर्ट नेपाल | 2022 May 31 | 04:58 pm 1609

झापा, जेठ १७ः ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरु उत्साही भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट छन् ।

मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका मकै किसान ६५ वर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजारभन्दा बढीको मकै बिक्री गरेका छन् । उनले लगाएको एक बिघा जमिनको मकै साइलेज बनाउनका लागि गाई फार्म सञ्चालकहरुले खरिद गरेका थिए । “मकै भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनु पनि नपर्ने, मूल्य पनि राम्रो आयो,” उनले भने, “बिना झन्झट बोटमै बिक्री भएपछि बिना खर्च आम्दानी पनि बढ्यो ।”

किसान पोखरेलले खेतबाटै प्रतिकेजी चार रुपियाँ पचास पैसाको दरले बोटसँगैको मकै बिक्री गरेको बताए । मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको बिक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ । मेचीनगरको ज्यामिरगढी, दुहागढी क्षेत्रको मकै साइलेज बनाउनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी कृषि फार्मले खरिद गर्दै आएको छ । एनएमसीले मेचीनगर १४ स्थित दुहागढीमा प्राङ्गारिक नमुना तरकारी खेतीसँगै गाईफाम समेत सञ्चालन गर्दै आएको छ ।

संस्थालाई भाडामा  लिएर लगाइएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै खरिद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । उनले साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरिद गरिएको जानकारी दिए । चैत महिनाभित्र खरिद गरिएको मकै प्रतिकेजी पाँच रुपियाँ र वैशाख लागेपछि प्रतिकेजी चार रुपियाँ पचास पैसाका दरले किसानको मकै खरिद गरिएको उनले बताए ।

अध्यक्ष उप्रेतीले गाईवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरू गाई फार्मलाई  बिक्री गरिने जनाए । उनका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । यसपटक जिल्लाको मेचीनगर, दमक, बिर्तामोडलगायत ठूला साना गाई फार्महरुले करिब एक करोड केजी मकैको साइलेज बनाएको उनको भनाइ थियो ।

दुई वर्षअघि एनएमसीले साइलेज बनाउन सुरु गरेसँगै जिल्लामा अन्य फार्मले समेत अघि बढेका  छन् । तयार भएको साइलेज बिक्रीका लागि एमएमसीले बुकिङ खुला गरेको छ । अध्यक्ष उप्रेतीले तयार भएको साइलेज जेठदेखि असारसम्ममा प्रतिकेजी रु. १० का दरले बिक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.