काठमाडौं, जेठ १७: सामान्यतः मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ। तर, दुर्घटनाग्रस्त तारा एयरमा सवार व्यक्तिको शव पोस्टमार्टम गर्नुको कारण फरक छ। चिकित्सकहरू भन्छन्, ‘मृत्युको कारण पत्ता लगाउन होइन। शवको पहिचान गर्न मंगलबारदेखि पोस्टमार्टम गर्दैछौं।’
तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेका यात्रुको शव सग्लो छैन। टुक्रा–टुक्रा शव संकलन गरी काठमाडौं ल्याउन धौधौ भइरहेको छ। मुस्ताङको थासाङ–२ स्थित कोवाङबाट पोखरा हुँदै १० वटा शव मात्र काठमाडौं ल्याइएको छ। स्थानीयवासीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो।
‘शवको पोष्टमार्टमका लागि हाम्रो चिकित्सकीय टिम तयारी अवस्थामा छ’, त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरी भन्छन्, ‘मंगलबार बिहानबाट पोस्टमार्टम सुरु हुन्छ।’
त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागका चिकित्सकहरू पोष्टमार्टमका लागि तयार छन्। उनीहरूलाई रेजिडेन्ट चिकित्सक पनि सघाउँदै छन्। ९ जनाको चिकित्सकीय टिम पोष्टमार्टममा जुटेका छन्। शवगृहमा सोमबार साँझसम्म १० वटा शव ल्याइएको छ। शव पोको पारेर ल्याइएको हो। शव ल्याउन संलग्न एक प्रहरी भन्छन्, ‘टुक्रा–टुक्रा अवस्थाका शव छन्। ९ जनाको पनि हुन सक्छ। १० जनाको पनि हुन सक्छ।’ अन्नपूर्ण पाेस्ट अनलाइनबाट