बजेट न वितरणमुखी, न चुनाव लक्षित

रिपोर्ट नेपाल | 2022 May 31 | 07:52 am 1249

काठमाडौं, जेठ १७ः अर्थमन्त्री जनार्दन शर्माले आइतबार सदनमा पेस गरेको बजेट चुनावमुखी नभएको बताएका छन् । उनले सत्ता गठबन्धनका दलहरूको सहकार्यमा बजेट बनाएको स्पष्ट पारेका छन् ।

अर्थ मन्त्रालयमा सोमबार बजेटबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले गठबन्धनका सबै नेतासँग छलफल गरेर मात्र बजेट ल्याएको बताए ।

कार्यान्वयनमा चुनौतीपूर्ण र महत्वाकांक्षीको आरोप लागेको बजेटका सन्दर्भमा उनले भने, ‘बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी छ ।’ बजेट वितरणमुखी नभएको जिकिर गर्दै उनले चुनावलक्षित कार्यक्रम नराखिएको पनि दाबी गरे ।

राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङभन्दा बढी पेस भएको झन्डै १८ खर्ब रुपैयाँको बजेटलाई आलोचकले महँगी बढाउने खालको प्रतिक्रियालाई उनले स्वाभाविक माने ।

चालू आर्थिक वर्षमा समेत विकास बजेट निकै कम खर्च भएकोमा नयाँ आर्थिक वर्षका लागि पर्याप्त तयारीबिना ठूला कार्यक्रम ल्याउँदा ऋणभार बढ्ने र त्यसको समयमै कार्यान्वयन हुने समस्या बजेटमा रहेको छ ।

अर्थ मन्त्रालयमा भएको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटकरीमा मुद्रास्फीति बजेटले भनेझैं ७ प्रतिशतमा राख्न प्रयास गरिने बताए ।

बजेटमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ७ प्रतिशतमा कायम गरिने लक्ष्य लिएको छ ।

अर्थसचिव मधु मरासिनीले अघिल्लो पटकभन्दा बजेटको आकारको वृद्धिदरदेखि लिएर राजस्वको लक्ष्यवृद्धि दर अनि आन्तरिक र वैदेशिक दुवै ऋण परिचालनको अनुपातसमेत केही घटाइएको बताए ।

चालू आर्थिक वर्षको बजेट कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३९ प्रतिशत रहेको र आगामी आवका लागि जीडिपीको ३७ प्रतिशतको मात्र बजेट बनाएको उनले बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.