कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

| 2022 May 23 | 06:49 pm 1377

काठमाडौं, जेठ ९ः सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर बाग्मती गाउँपालिका-६ फापरबारी सानो कायर ठेगाना भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका-६ लेले ठेगाना भएकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् ।

दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर बाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको छ ।

हत्या पश्चात सलले बाँधी  शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा, ठोरी गाउँपालिका-५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।  साथै उक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको छ ।

पक्राउ परेका किशोर उपर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.