धरान, जेठ ८ः धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी भएका छन्। उनले २० हजार ८ सय २१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गरेका हुन्।
कांग्रेसका राईले १६ हजार ५९ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत ल्याएकी छन्।
धरानमा २०४६ सालको जनआन्दोलनपछि कम्युनिष्ट पार्टी विजयी हुँदै आएका थिए। २०७४ सालको स्थानीय निर्वाचनमा धरान नगरको प्रमुख तारा सुब्बाको निधन भएपछि २०७६ सालको उपनिर्वाचनमा कांग्रेसले विजयी भएको थियो।
२०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार साम्पाङ्गले एमालेको लालकिल्ला र गठबन्धनलाई पछि पार्दै धरानमा नयाँ इतिहास रचेका हुन्।