गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने

| 2022 May 19 | 06:54 am 1769

कपिलवस्तु, जेठ ४ः गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समाबेशका लागि लगिने प्रक्रियाको विषयमा लुम्बिनीमा भएको छलफलले निष्कर्ष निकालेको हो ।

तिलौराकोट आगामी २ वर्ष भित्रमा विश्व सम्पदा सूचीमा सुचीकृत हुनेछ । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए ।

दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देशक सापकोटाले बताए । तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाडि बढ्ने आर्केटेक काइ वाइजीको भनाइ छ  ।

अष्ट्रेलियाका विज्ञ डङ्कन पार्सलले तिलौराकोटको डिजाइन गरि रहेको र अहिले डकुमेन्ट्री बनाउने काम भइरहेकोले अबको २ वर्ष भित्रमा काम पूरा हुने र सन् २०२४ मा विश्व सम्पदा सूचिमा सुचिकृत हुने लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानिन राईले बताए।

दुई दिन सम्म भएको सेमिनारमा विज्ञहरुको सुझावलाई समेटेर तिलौराकोटको बारेमा सबैले बुझ्ने गरी किताबको रुपमा प्रकाशन गरिने राइले जानकारी दिए । विश्व सम्पदामा सुचिकृत भइसकेपछि गौतमबुद्धको घर तिलौराकोट दरबारको संरक्षण हुने र पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास हुने अपेक्षा गरिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.