मोदीको लुम्बिनी भ्रमण: धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास

रिपोर्ट नेपाल | 2022 May 17 | 07:54 am 1493

बुटवल, जेठ ३ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कूटनीतिबाट नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेका छन् । २५६६औं बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आएका मोदीले आफूलाई राजनीतिकभन्दा पनि धार्मिक भ्रमणबाट आनन्द मिल्ने बताए ।

मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ

मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको बताउँदै नेपाल आउँदा आफू अत्यन्तै खुसी हुने बताएका थिए । उनले नेपाली भाषामा भनेका थिए, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’

उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसलगायतका धार्मिक स्थलको भ्रमण गरेको स्मरण गर्दै त्यसले नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाएको बताए । मोदीले घुमाउरो ढंगमा नेपालसँग धार्मिक कूटनीतिबाट सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन् । नेपालसँग सम्बन्धमा चिसोपन आइरहेका बेला मोदीले धार्मिक कूटनीतिको प्रयास गरेका हुन् ।

दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालबिना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उति नै खुसी छ भन्ने मलाई विश्वास छ ।’ उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए ।

खानपान, गीतसंगीत, चाडपर्व, रीतिरिवाजदेखि पारिवारिक सम्बन्ध, जसलाई हामीले हजारौं वर्षंसम्म बाँचेका छौं, अब तिनलाई विज्ञान, प्रविधि र पूर्वाधारजस्ता नयाँ क्षेत्रसँग पनि जोड्नुपर्नेछ, यस विषयमा भारत नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ

‘दुवै देशबीच मिलेर काम गर्ने सम्भावना अपार छन्, हाम्रा यी प्रयासको लाभ दुवै देशका नागरिकहरूले पाउनेछन्,’ उनले भने, ‘भारत र नेपालीबीचको सम्बन्ध सगरमाथाजस्तै अटल छ । सगरमाथाजत्तिकै पुरानो पनि छ । हामीले आफ्ना स्वाभाविक र नैसर्गिक सम्बन्धलाई सगरमाथाजत्तिकै उचाइमा पु-याउनुपर्छ ।’

उनले सांस्कृतिक हिसाबले पनि दुई देशबीच पारिवारिक सम्बन्ध रहेको बताए । ‘खानपान, गीतसंगीत, चाडपर्व, रीतिरिवाजदेखि पारिवारिक सम्बन्ध, जसलाई हामीले हजारौं वर्षसम्म बाँचेका छौं, अब तिनलाई विज्ञान, प्रविधि र पूर्वाधारजस्ता नयाँ क्षेत्रसँग पनि जोड्नुपर्नेछ,’ उनले थपे, ‘यस विषयमा भारत नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ ।’

प्रधानमन्त्री देउवाको निमन्त्रणमा लुम्बिनी आएका मोदीले यहाँ ६ घण्टा बिताए । उनले ६ घण्टाको अवधिमा मायादेवी मन्दिर दर्शन गरे । मायादेवी मन्दिरमा पूजा आराधना गरे । जहाँ मोदीले करिब ४० मिनेट विशेष पूजामा बिताए । पूजा आराधनापछि मोदी र देउवाले संयुक्त रूपमा भारतीय बुद्धिस्टहरूको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गरे । सो बौद्ध बिहार १ अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र बौद्ध विहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवा र मोदीले औपचारिक भेटवार्ता गरे । भेटमा देउवा र मोदीबीच करिब डेढ महिनाअघि प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएको छलफल र उपलब्धिका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.