पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधि, पूर्वप्रधानमन्त्री शरिफ विरामी

रिपोर्ट नेपाल | 2018 Jul 30 | 08:04 am 2041

पाकिस्तान: पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ। त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू भएका छन्।

पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए-२२२ (थारपारकर–दोस्रो)बाट निर्वाचन लडी एक लाख छ हजार ६३० मत ल्याई संसदमा प्रतिनिधित्व गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ग्रान्ड डेमोक्रेटिक गठबन्धनका अर्वाव जाकुल्लाहले ८७ हजार २५१ मत प्राप्त गरेका छन्।

मलानी खाद्यान्नका लागि सिन्ध सभाका स्थायी समिति प्रमुख छन्। पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफले सन् २००२ मा गैरमुशलमान समुदायबाट मतदान तथा निर्वाचन लड्न पाउने कानूनी व्यवस्थाको सुनिश्चितता गरेका थिए।

जस अनुसार पाकिस्तानी अल्पसङ्ख्यक समुदायले पनि केन्द्रीय, प्रान्तीय सभा तथा पाकिस्तानी सिनेटमा निर्वाचित हुन पाउने प्रावधान बनेको थियो । यस पहिले गत मार्चमा पीपीपी कै कृष्ण कुमारी थारपारकरबाट सिनेट सदस्यमा निर्वाचित बन्ने पहिलो महिला हुन्।

पूर्वप्रधानमन्त्री विरामी

यही महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी भएको एक पाकिस्तानी मन्त्रीले आइतबार बताएका छन्।

शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो । उनीहरूले बेलायतमा अवैध रूपमा सम्पत्ती जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि अनुसन्धान शुरु गरिएको छ।

पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृह मन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा भने, “पूर्व प्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ।”

“पूर्व प्रधानमन्त्री शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ । उनी कति दिन अस्पताल बस्‍नेछन् । यो सबै चिकित्सकको सल्लाहमा निर्भर हुनेछ,” जावेदले भने।

शरीफले आफूलाई लक्षित गरी पाकिस्तानी शक्तिशाली सुरक्षा समूहबाट खतरा रहेको बताउने शरीफले निर्वाचनमा आफ्नो दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) गत बुधबार भएको निर्वाचनमा प्रसिद्ध पूर्व क्रिकेट खेलाडी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफसँग पराजीत बनेपछि आफ्नो राजनीतिक जीवनलाई जोगाउन सङ्घर्ष गरिरहेका छन्।

शरीफलाई भ्रष्टाचार आरोप लागेपछि उनले प्रधानमन्त्रीका रूपमा काम गर्न अयोग्य रहेको पाकिस्तानी अदालतले राय दिएको थियो । पछि उनी पार्टीको अध्यक्षबाट पनि हटेका थिए। उनको अनुपस्थितिमा उनकै सहोदर भाई शहवाजले पिएमएल–एनको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.