मधेसमा म्यादी प्रहरी बन्न मरिहत्ते

रिपोर्ट नेपाल | 2022 Mar 25 | 07:23 am 1477

काठमाडाैं, चैत ११ः मधेसको टन्टलापुर घाममा बिहानैदेखि पसिना बगाएर सयौं युवा जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि लामबद्ध छन्। प्रहरी कार्यालयसँगैको तिरहुतिया गाछि मैदानमा उक्त भिडियो हेर्दा यस्तो लाग्छ, त्यहाँ कुनै ठूलो मेला लागेको छ। लाइन बस्दा पटक–पटक झगडा, गालीगलौंच र धक्कामुक्की हुनु सामान्य जस्तै भएको छ। प्रहरी कर्मचारीबाट बेला–बेलामा लाठी र झापड पनि बर्सिन्छ। तर, यी युवा आफ्नो ठाउँबाट टसमस हुँदैनन्। यति धेरै परिश्रम र दुःख हो, म्यादी प्रहरी बन्न।

अहिले मधेस प्रदेशका हजारौं बेरोजगार युवाहरू म्यादी बन्न तँछाडमछाड गरिरहेका छन्। आफ्नै घर आँगनमा सरकार भए पनि रोजगारीको अवसर सिर्जना हुन नसक्दा बेरोजगार युवाहरू म्यादी बन्ने अवसर आउने बित्तिकै हुरुक्क भएका छन्। तर, उनीहरूका लागि यो अवसर पनि सोचेजस्तो सजिलो भने छैन।

१९ वर्षीय राकेश दास पछिल्लो २ दिनदेखि गाउँबाट जनकपुर धाइरहेका छन्। कक्षा १२ पास गरिसकेका दासलाई परिवारबाट पैसा कमाउन निकै दबाब दिएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया—३ का दास मंगलबार बिहान १० बजेदेखि लाइनमा बसेर दिउँसो ३ बजे मात्रै आवेदन भर्न पाए। बुधबार प्रवेशपत्र लिन आएका दास निकै अव्यवस्थित भीडभाड र प्रहरीको कुटाइबाट आजित भएर एउटा कुनामा बसेको अवस्थामा भेटिए।  ‘थोर बहुत आम्दानी हुन्छ भनेर फाराम भर्न आएको तर यति धेरै भीड र तनाव रैछ। बेकार आए जस्तो लाग्यो,’ दास निराश हुँदै भने, ‘घरबाट सबैले ‘काम गर, पैसा कमा’ भनेर तनाव दिन्छन् । यहाँ आउँदा प्रहरीको कुटाइ खानु परेको छ।’ पासै होइन्छ भन्ने आश खासै छैन्, उनी दुखेसो पोख्छन्।

तुल्सीयाहीका २२ वर्षीय शशीकुमार महतो पनि म्यादी बने होडमा छन्। ‘बेरोजगार छु। गाउँघरमा काम पाइँदैन। साथीभाइहरूले ‘१ महिनामै ३०÷३५ हजार रुपैयाँ आउँछ’ भनेर सुनाए। अनि म्यादीको फारम भर्न आएँ,’ महतोले भने, ‘यहाँ त निकै गाह्रो रहेछ। हिजो फाराम लिनै समस्या भयो। प्रहरीले बेला–बेला हात छाड्छ न कुनै लाइन छ न व्यवस्था।’

चैत १५ बाट छनोट प्रक्रिया टुंग्याएर चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरीको कार्यतालिका छ। छनोटमा परेकाहरू लाई चैत २८ बाट प्रशिक्षण दिएर निर्वाचनको लागि तयार गरिनेछ। 

त्यस्तै, बेरोजगार घरमा बस्नुभन्दा म्यादी प्रहरी भएर केही दिन काम पाउन आवेदन दिन आएको बताउँछन्, २० वर्षीय शिवम राउत। ‘पहिलाको निर्वाचनमा मेरो दाई म्यादी प्रहरीमा भर्ना हुनु भएको थियो। उहाँकै नै फाराम भर्न लगाउनुभयो,’ उनले भने। यसअघिको निर्वाचनमा म्यादी प्रहरी बनिसकेकी ढल्केबर जमुनिवासकी २८ वर्षीय मन्जु महत पनि आवेदन दिन आएकी छन्। ‘मेरा दुई छोराछोरी छन्। उनीहरूलाई घरमै छाडेर म्यादी बन्न आएकी हुँ,’ महतले सुनाइन्, ‘तर, अहिलेको व्यवस्थापन निकै फितलो छ। ज्यानै जाने खालको भीडभाड छ। यस्तो गर्मीमा ज्यादती नै भएको छ।’ उनीसँगै टोलभरीका करिब एक दर्जन महिलाहरू  म्यादी बन्न आएका छन्।

४० दिन मात्रै कार्यअवधि भएको जागिर पाउन पनि युवाहरू मा यत्रो सकस छ। यसले प्रदेशको दुर्दशा प्रस्ट्याएको बताउँछन्, जनकपुरधाम उपमहानगरपालिका—७ का वडाअध्यक्ष जानकीराम साह। ‘यस प्रदेशमा भएका उद्योग, व्यापार सुखिसकेका छन्। बेरोजगारीको समस्या समाधान गर्न सरकारबाट कुनै योजना ल्याइएको छैन। यस्तोमा युवाहरू स–साना अवसरका लागि पनि मरिहत्ते गर्नु स्वभाविक हो,’ उनले भने, ‘जनकपुरधामले आवेदन दिन आएका युवाका लागि व्यवस्थित रूपले फाराम भर्न, थकाइ मार्न, खानेपानी र शौचालयको बन्दोबस्त गर्न जस्ता आधारभूत व्यवस्थापनसमेत गर्न नसक्नुले जनताप्रति सरकारको कुनै दायित्व नै नरहेको प्रष्ट्याएको छ।’  त्यस्तै, युवा अभियान्ता सरोज मिश्र भन्छन्, देशका ५० प्रतिशत युवा खाडीमा छन्। बाँकी ५० प्रतिशलाई पनि तीन तहका सरकारले रोजगार दिन नसक्नु दुःखको कुरा रहेको बताए। भन्छन्, ‘युवालाई रोजगार त परै जाओस् सीपमूलक तालिमसमेत दिन सकेका छैनन्।’

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशैभरी एकसाथ आवेदन माग गरेको हो। चैत ११ गतेसम्म आवेदन दिन सकिने हुँदा गाउँ–गाउँबाट युवाहरूको भीड सम्बन्धित कार्यालयहरूमा लाग्न थालेको छ। चैत १५ बाट छनोट प्रक्रिया टुंग्याएर चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरीको कार्यतालिका छ। छनोटमा परेकाहरू लाई चैत २८ बाट प्रशिक्षण दिएर निर्वाचनको लागि तयार गरिनेछ।

धनुषामा आवेदन दिनेहरूको भीड थेगिनसक्नु भएको बताउँछन्, जिप्रका धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे। उनी भन्छन्, ‘हामीले सकेसम्म व्यवस्थित रूपमा आवेदन लिने र अन्य प्रक्रियाहरू पूरा गराउने काम गरिराखेका छौं।’ धनुषामा ३ हजार ४८६ जना म्यादीको दरबन्दी स्वीकृत गरिएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले उच्च सुरक्षा संवेदनशीलता र निर्वाचन क्षेत्रका आधारमा म्यादी प्रहरीको संख्या निर्धारण गर्ने गरिएको बताए। देशभरीबाट १ लाख म्यादीको दरबन्दी स्वीकृत गरिएकोमा सबैभन्दा बढी मधेस प्रदेशका ८ जिल्लामा २१ हजार ६९८ जनाको दरबन्दी तोकिएको छ। धनुषामा ३४८६, सप्तरीमा ३१३९, सर्लाहीमा ३०८८, महोत्तरीमा २७३६, रौतहटमा २५८९, बारा २५२८, सिरहा २३३१ र पर्सामा १८०१ जनाको माग छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.