भन्सार छली करोडौंको तस्करी

रिपोर्ट नेपाल | 2022 Mar 23 | 07:47 am 1085

काठमाडौं, चैत ९ः भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो ।

राजस्वले कडाइ गरेपछि तस्कर फन्दामा

राजस्व विभागले तस्करी गर्नेहरूलाई पक्राउ गरी कारबाही थालेको छ । विभागले सुरक्षाकर्मीसहितको टोली नाकाहरूमा पठाएर अनुगमनलाई तीव्रता दिँदै आएको छ । विभागको विशेष सुरक्षा टोलीले केही दिनअघि विभिन्न नाकाबाट सामान तस्करी गरी काठमाडांै ल्याएर बिक्रीवितरण गरेका केही व्यक्तिलाई पक्राउ गरेको छ । तस्करी गर्नेहरूको व्यापक खोजतलास भइरहेको विभागका अधिकारीले बताएका छन् ।

राजस्व अनुसन्धान विभागका अनुसार नवलपरासी, सिराहा, सप्तरी, वीरगन्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामान भित्रिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले त्यस क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ । अहिले पनि लुकिछपी करोडौं मूल्यका विभिन्न सामान भित्रने क्रम रोकिएको छैन ।

राजस्व अनुसन्धान विभागले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेका छन् । विभागले सो प्रणालीमा आबद्ध नहुनेहरूलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । वस्तुको ओसारपसार गर्दा बिल र भीसीटीएस प्रविष्ट गरेको प्रमाणसँगै लिएर चालक एवं संलग्न कर्मचारी हिँडेको तर कतिपय कारोबार वैधानिक तवरबाट पैठारी नभएका वा खरिद भएका वस्तु मात्र नभई चोरीपैठारीबाट भित्रिएका मालवस्तुसमेत एकै बिलविजकबाट ओसारपसार गरेको पाइएकाले त्यस्तो कार्य दण्डनीय हुने भएकाले त्यस्तो नगर्न विभागले चेतावनी दिएको छ । यदि त्यस्तो गरिएको पाइए तस्करीमा कारबाही हुने विभागले स्पष्ट पारेको छ ।

यसरी हुन्छ तस्करी
राजस्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार तस्करहरूले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामान ओसारपसार गरी सीमाक्षेत्र नजिकैको गाउँमा थुपार्ने र त्यहीबाट सानोसानो परिमाणमा मालवाहक ट्रकबाट ओसारपसार गर्ने गरेका छन् । पछिल्लो समय त्यसरी सामान थुपार्न चितवन जिल्लालाई हबका रूपमा प्रयोग गर्ने गरेको पाइएको विभागका अधिकारीले बताएका छन् । त्यसरी चितवनमा जम्मा गरिएका तस्करीका सामान त्यहीबाट विभिन्न जिल्लामा पठाउने गरिएको विभाग सम्बद्ध सुरक्षाकर्मीले बताए । तस्करले सामान राख्न नाका नजिकैका मुख्य सहरी क्षेत्रबाट नजिक पर्ने गाउँ र त्यहाँ मानिसलाई प्रयोग गर्ने गरेका छन् ।

निर्वाचनको मौका छोपी तस्करी अझै बढ्न सक्ने
राजनीतिक संक्रमण र निर्वाचनको समयमा तस्करीका घटना अत्यधिक बढ्ने गरेको विभागका अनुसन्धान अधिकारीको भनाइ छ । अहिले स्थानीय तहको निर्वाचन घोषणा भइसकेकाले तस्करले तस्करीको क्रम बढाउन सक्ने देखिएको छ । विशेषगरी निर्वाचनको समयमा अधिकांश सुरक्षाकर्मी र कर्मचारी निर्वाचनमा खटिने र नाकालगायत सुरक्षा केन्द्रहरूमा सुरक्षाकर्मीको न्यून संख्या हुने भएकाले तस्करहरूले त्यसैको फाइदा उठाउँदै सामान तस्करी गर्ने क्रमलाई उच्च बनाउन सक्ने भएकाले पनि तस्करी झनै बढ्ने बताइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.